कास्की जिल्ला भलिबल सङ्घको पाँचौं अधिवेशन, अध्यक्षमा पराजुली

पोखरा, २३ पुस। कास्की जिल्ला भलिबल सङ्घको पाँचौं जिल्ला अधिवेशन म·लबार सम्पन्न भयो। अधिवेशनले आगामी चार वर्षे कार्यकालका लागि भीम पराजुलीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।समितिको प्रथम उपाध्यक्षमा खगेन्द्र गौचन, द्वितीय उपाध्यक्षमा बाबुराम केसी, सचिवमा कुमार गुरुङ, कोषाध्यक्षमा सुनिता गुरुङ, सहसचिवमा शेषकान्त शर्मा, सहकोषाध्यक्षमा दीपेन्द्र पहारी तथा सदस्यमा टंकराज पौडेल, मदन बस्नेत, नुना गुरुङ, मोहनलाल सुनारीमगर, यज्ञ गौचन र गोविन्दबहादुर शाही रहेका छन्।

Kaski District Volleyball Associationबाँकी दुई सदस्य पहिलो बैठकले मनोनीत गर्ने बताइएको छ। कार्यसमितिमा भीम पराजुली, खगेन्द्र गौचन, कुमार गुरुङ, सुनिता गुरुङ, मदन बस्नेत र नुना गुरुङबाहेक सबै नयाँ अनुहार हुन्। उनीहरूलाई नेपाल भलिबल सङ्घका केन्द्रीय उपाध्यक्ष एवं निर्वाचन प्रतिनिधि यमबहादुर गुरुङले सपथग्रहण गराउँदै प्रमाणपत्र वितरण गरेका थिए।निर्वाचन अधिकृतमा कास्की जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बराल रहेका थिए।

यसअघि अधिवेशनको उद्घाटन गर्दै राष्ट्रिय खेलकुद परिषद्का सदस्य दीलिपविक्रम शाहीले राखेपमा डेढ सय सङ्घ दर्ता भए पनि काम गर्नेको हिसाबमा मठ्ठीभर सङ्घ मात्रै रहेको र त्यसमा पनि नेपाल भलिबल सङ्घ अग्रणी स्थानमा रहेको बताए। उनले संस्थामा भोलिण्टियर भएर कहिलेसम्म सेवा गर्ने त्यससम्बन्धमा पनि प्रश्नचिन्ह उब्जिएको भन्दै व्यवसायिक किसिमले जानुपर्ने बताए।भलिबलको विकासको लागि भलिबल ट्रेनिङ सेन्टर स्थापना गर्नुपर्ने आवश्यकता औंल्याउँदै सदस्य शाहीले त्यसको लागि सङ्घले कार्ययोजनासहित आएमा आफूले बाराही उमाविको खाली जमिन उपलब्ध गराउने प्रतिबद्धता जनाए।

नेपाल भलिबल सङ्घका केन्द्रीय उपाध्यक्ष एवं निर्वाचन प्रतिनिधि यमबहादुर गुरुङले समितिमा जोश र जाँगर लिएर काम गर्छु भन्ने उद्देश्यल लिएर सङ्घमा आउने साथीहरूलाई सहयोग गर्ने बताए। उनले खादा लगाएर फोटो खिचाएर नाम छाप्ने उद्देश्यले कोही पनि नआउन आग्रह गर्दैसङ्घलाई समय दिने साथीहरूको आवश्यकता भएको बताए। उनले नेपाल भलिबल सङ्घले जिल्ला भलिबल सङ्घहरूलाई सक्रियताको आधारमा सहयोग गर्दै जाने र आफू स्वं यही जिल्लाको भएको हुँदा सक्दो सहयोग गर्ने र जिल्ला सङ्घ सक्रिय हुनुपर्ने बताए।

कार्यक्रममा पश्चिमाञ्च्ल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख डेमबहादुर बस्नेत, कास्की जिल्ला फुटबल सङ्घका उपाध्यक्ष धरमसिंह लामिछाने, पश्चिमाञ्चल क्षेत्रीय तालिम प्रशिक्षण विभाग विमुख विद्या मर्सानी, कास्की जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बराल, नेपाल खेलकुद पत्रकार मञ्च कास्कीका उपाध्यक्ष प्रेमनारायण न्यौपानेलगायतले शुभकामना मन्तव्य राखेका थिए। अधिवेशनले सचिव सिम गुरुङले प्रस्तुत गरेको प्रगति प्रतिवेदन तथा कोषाध्यक्षको अनुपस्थितिमा अध्यक्ष अनिल सिंहले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरेको थियो। कास्की जिल्ला भलिबल सङ्घका अध्यक्ष अनिलकुमार सिंहको अध्यक्षतामा भएको कार्यक्रममा प्रथम उपाध्यक्ष भीम पराजुलीले स्वागत मन्तव्य तथा सचिव सिम गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए।

कमेन्टहरु
Loading...