काठमाडौं । राष्ट्रियसभा सदस्य कोमल वली नेकपाका नेता रघुजी पन्तको अभिव्यक्तिविरुद्ध अदालत जाने भएकी छिन् । अमर्यादित टिप्पणी गरेर आफूविरुद्ध मानमर्दन गर्ने प्रयास गरेको भन्दै वली पन्तविरुद्ध मानहानीको मुद्दा दायर गर्ने तयारीमा लागेकी हुन् ।
नेता पन्तले एउटा कार्यक्रममा बोल्ने क्रममा कोमल वलीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले पिंडुला देखाएको भरमा नै सांसद बनाएको टिप्पणी गरेका थिए । सो कार्यक्रमममा आफ्नो भनाई व्यक्त गर्दै पन्तले कोमल वलीले साडी सारेर पिंडुला देखाएकै भरमा सांसद बनाएको आरोप लगाएका थिए । पिंडुला देखाउँदै पोइला जान पाम भनेपनि प्रधानमन्त्री ओलीले कोमल वलीलाई राष्ट्रियसभा सदस्य तथा आफू इतरको नेकपाको केन्द्रीय सदस्य बनाएको टिप्पणी गरेका थिए । यो भनाई पनि नेता पन्त विवादमा तानिएका छन् । उनले बोलेको सो भिडियो हाल सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
पन्तको सो भनाईप्रति वलीले सामाजिक सञ्जाल फेसबुकमार्फत् विरोध जनाएकी थिइन् । वलीले पन्तले दिएको उक्त अभिव्यक्तिले आमा, दिदीबहिनी सबैलाई अपमान गरिएको उनले बताएकी छिन् । ‘पूर्वीया दर्शनदेखि मानव विकासमा महिलाको उच्च सम्मान समाजको कसिमा उत्तीर्ण भएर भएको छ । प्रकृतिले नै महिला र पुरुषको समायोजन गरेको हो । एकअर्काको आदर सम्मानबिना समाजमा न्याय समानता र विवेकशीलताको अन्त हुन्छ । समाज हिंसा तिर जान्छ र दया करुणा जस्ता कुरा हराउँछन् ।’ उनले फेसबुकमा लेखेकी छिन्, ‘तसर्थ एकले अर्कालाइ सम्मान गर्नु जीवनलाई मर्यादित र सरल बनाउनु हो । तर नेकपाका नेता रघु पन्तले महिलाहरुले प्राप्त गर्ने पदहरु पिंडुला देखाएर भन्ने जुन अभिव्यक्ति दिनुभएको छ, उहाँको मानव विकासका क्रममा बन्ने तन्तुबीचैमा रोकिएको जस्तो छ । उहाँले प्रयोग गर्ने शब्दहरुले आफ्नो आमा दिदीबहिनी सबैलाई अपमान गरेको छ । विवेकहीन मानिसको आलोचनाले आफैंलाई आलोचित गर्छ । यस्ता व्यक्तिले नेतृत्व गरेका राजनीतिक पार्टी र समाजको दुर्घटना कति टाढा होला ?’