काठमाडौंको तारकेश्वरमा फेरी बर्डफ्लु भेटियो, विभिन्न फार्मबाट कुखुरा तथा दाना नष्ट

काठमाडौं । काठमाडौंमा फेरी बर्डफ्लु भेटिएको पुष्टि भएको छ । तारकेश्वर नगरपालिका वडा नम्बर १ साङ्लामा फेरी पनि बर्डफ्लु पुष्टि भएको हो । बर्डफ्लु भेटिएको पुनः पुष्टि भएपछि उक्त स्थान तथा वरपरका कुखुरा तथा दानालाई नष्ट गरिएको छ । विभिन्न व्यक्तिहरुको फार्ममा रहेका ६ हजार ५ सय २५ वटा लेयर्स कुखुरा नष्ट गरिएको हो ।

सरकारी अनुगमन टोलीले उपलब्ध गराएको जानकारी अनुसार विक्रम गौतम तथा कमल गौतमको फार्ममा रहेका ६ हजार ५ सय २५ वटा लेयर्स कुखुरा नष्ट गरिएको हो । दुवै जनाको फार्ममा रहेका १ हजार ४ सय ५० किलो दाना तथा ३ हजार ५ सय ७० वटा अण्डा समेत नष्ट गरिएको छ । यस्तै सोही स्थान नजिकै रहेको सरिता शाहको फार्ममा रहेका कुखुराको चल्ला तथा दाना पनि नष्ट गरिएको छ ।

शाहको फार्ममा रहेको २ हजार ९ सय ६० वटा बोइलर कुखुराको चल्ला तथा ७ सय ५० किलो दाना नष्ट गरिएको हो ।

सम्झना ठकुरी तिवारी तथा शान्ता खनालले पालेका बोइलर र लोकल कुखुरा समेत नष्ट पारिएको छ । तिवारीले पालेका १ हजार ७ वटा लोकल तथा २ हजार ७६ वटा बोइलर कुखुरा बर्डफ्लु पुष्टि भएपछि नष्ट गरिएको छ ।

त्यस्तै खनालले पालेका २ वटा कर्टी सहित १ सय वटा लोकल कुखुरा नष्ट गरिएको अनुगमन टोलीले जानकारी दिएको छ ।

यस अगाडि सोही नगरपालिकाको वडा नम्बर १ मा बर्डफ्लु देखिएपछि १४ सयभन्दा धेरै हाँस नष्ट पारिएको थियो । उक्त वडामा हाँसमा मात्रै बर्र्डफ्लु देखिएको भए पनि हाल कुखुरामा पनि पुष्टि भएको हो ।

कमेन्टहरु
Loading...