राजु गिरी, पोखरा ।
पोखरा महानगरपालिका वडा नं. २४ कास्कीकोटमा अवस्थित कालिका माध्यमिक विद्यालयमा अभाव भैरहेको इन्टरनेट सुविधालाई लायन्स क्लव अफ पोखरा सेन्टेनियलले पुरा गरिदिएको छ । आज विद्यालयको एक कार्यक्रम बिच सेन्टेनियलले ६० हजार रुपैँया बराबरको ३ वर्षका लागि द्रुत गतिको ईन्टरनेट विद्यालयलाई सहयोग गर्ने घोषणा गरेको हो ।
कार्यक्रममा लायन्स क्लव पोखरा सेन्टेनियलका अध्यक्ष प्रज्ञात कायस्थले विद्यालयको अन्य अभावलाई पनि क्लवले पुरा गर्दै जाने प्रतिवद्धता व्यक्त गरे । अभाव तथा आवश्यकता भएका स्थानमा क्लवले निरन्तर सहयोग गरिरहेको उनको भनाई थियो । यसरी नै क्लवले इन्टरनेटको अभाव भएका अन्य ४, ५ वटा विद्यालयलाई तत्कालै सहयोग गर्ने योजना रहेको समेत कायस्थले बताए ।
कालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक इश्वरीप्रसाद बास्ताकोटीले समाज डिजिटल प्रविधिमा गइसकेकाले विद्यालयको अभावलाई पुरा गरिदिएकोमा धन्यवाद व्यक्त गरे । यसले विद्यार्थीको पढाइमा सकारात्मक असर पर्ने उनको भनाई थियो । अव विद्यालयमा शिक्षक तथा कर्मचारीका लागि इ–एटेन्डेन्सको खाँचो रहेको प्रधानाध्यापक बास्ताकोटीले बताए ।
कार्यक्रममा विद्यालयले दोसल्लो ओढाएर ७ जना व्यक्तिलाई सम्मान समेत गरेको छ । सम्मान हुनेमा प्रज्ञात कायस्थ, महेश श्रेष्ठ, साजन सुवेदी, पुष्पा गुरुङ, बिबेक श्रेष्ठ, सुरज श्रेष्ठ, कुशल थापा रहेका छन् ।
विद्यालयसम्म सहयोगको वातावरण युवा नेता साजन सुवेदीले गरेका थिए । सुवेदी सोही विद्यालयका पूर्व विद्यार्थी हुन् ।
लायन्स क्लव अफ पोखरा सेन्टेनियलले स्वास्थ्य शिविर, राहत वितरण, रक्तदानलगाएत सामाजिक कार्यमा अग्रसर रहिरहेको क्लबका पूर्व अध्यक्ष महेश श्रेष्ठले जानकारी दिए ।