काठमाडौं । आजबाट लागु हुने गरेर डाक्टरहरुको परामर्श तथा जाँच्ने शुल्कमा वृद्धि भएको छ ।
आज नेपाल चिकित्सक संघ तथा एसोसियसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन) ले संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै डाक्टरले जाँच्ने तथा दिने परामर्शको शुल्क वृद्धि भएको जानकारी गराएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य क्षेत्रमा क्रियाशील ट्रेड युनियन तथा पेसागत संघसंस्थाको संयुक्त संघर्ष समितिसंग चिकित्सकले प्रदान गर्ने परामर्श तथा जाँचको शुल्क ३० दिनभित्र वृद्धि गर्ने गरेर गत माघ ४ गते सम्झौता गरेको थियो । तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उक्त सम्झौताको कार्यान्वयन नगरेपछि संघ तथा अफिनले हिजो बैठक बसेर नयाँ परामर्श शुल्क आफैंले तय गरेको हो । उक्त शुल्क नेपाल राष्ट्र बैंकको मुद्रा स्फीति तथा शुल्क परामर्श समितिले सिफारिस गरेको शुल्कलाई आधार बनाएर तोकिएको बताइएको छ ।
‘स्वास्थ्यमा क्रियाशील ट्रेड युनियन तथा पेसागत संगसंगठनहरुको संयुक्त संघर्ष समितिसंग नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २०७७ माघ ४ गते सम्झौता गरी चिकित्सकहरुको परामर्श शुल्कलाई ३० दिनभित्र लागु गर्ने प्रतिबद्धता गरिएको तर सोको हालसम्म पनि कार्यान्वयन नभएको हुनाले २०७७ फागुन ४ गते नेपाल चिकित्सक संघ र एसोसियसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन) को संयुक्त बैठकको निर्णयअनुसार नेपाल राष्ट्र बैंकको मुद्रा स्फीति तथा शुल्क परामर्श समितिले सिफारिस गरेको शुल्कलाई आधार मानी परामर्श शुल्क आजैको मितिबाट लागु गर्ने निर्णय गरिएकोले सोको कार्यान्वयन गर्न गराउन हुन सम्पूर्ण चिकित्सक, स्वास्थ्य संस्था तथा अस्पतालहरुलाई अनुरोध गरिन्छ ।’ विज्ञप्तिमा भनिएको छ ।
आजबाट नै लागु हुने नयाँ शुल्कअनुसार एमडी तथा १० वर्षसम्म अनुभव भएका डाक्टरले जाँच शुल्क ८ सय २५ रुपैयाँ लिन पाउने गरेर तोकिएको छ । त्यस्तै ५ वर्षभन्दा बढी अनुभव भएका डाक्टरले दिने परामर्श तथा जाँच शुल्क ४ सय ५० तोकिएको छ । यता ५ वर्षसम्म अनुभव भएका तथा एमबिबिएस गरेका डाक्टरले परामर्श दिँदा तथा जाँच गर्दा ३ सय ७० रुपैयाँ लिन पाउने भएका छन् ।