२ वर्षमा पनि सकिएन १४ सय मिटर सडक निर्माण योजना

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारको मंगलाघाटबाट हाडेभिर हुँदै बगरफाँट जोड्ने १ हजार ४ सय मिटर सडक कालोपत्र गर्ने योजना २ वर्षमा पनि सकिएको छैन । सम्बन्धित कार्यालयले पर्याप्त बजेट व्यवस्थापन गर्न नसकेको यो आयोजना ठेकेदारको लापरवाही र ढिलासुस्तीले अलपत्र परेको हो । बेनी नगरपालिका–७ मंगलाघाटबाट वडा नं २ को हाडेभिर हुँदै बगरफाँट जोड्ने सडक कालोपत्रमा भएको ढिलासुस्तीले नागरिकलाई सास्ती भएको मंगलाघाटका सुवासकुमार श्रेष्ठले बताएका छन् । ‘सडकको धुलोले हरेक पटक बेनी बजार गएर फर्किएपछि नुहाउनु र कपडा धुनुपर्ने हुन्छ ।’ उनले भने, ‘साँघुरो सडक छेउमा थुपारिएका निर्माण सामग्रीले आवतजावतमा समस्या र दुर्घटनाको जोखिम बढाएको छ ।’

सडक विस्तार र कालोपत्र गर्न बेनी नगरपालिकाको कार्यालय अगाडिबाट मंगलाघाट जाने सडकमा यसअघि गरिएको कालोपत्र उप्काइएको थियो । नयाँ कालोपत्र गर्न ढिलाइ गर्दा म्याग्दीको पश्चिमी भेगको नाकामा पर्ने मंगलाघाटको सडकको धुलो र हिलोले स्थानीयवासी प्रभावित भएका छन् । हाडेभिर–बगरफाँट भकिम्ली, सिंगा र बरङ्जालाई सदरमुकाम बेनीसँग जोड्ने सडकको नाका हो ।

हाल सहरी विकास मन्त्रालयको सघन सहरी विकास डिभिजन कार्यालय बागलुङले सञ्चालन गरेको यो योजना देव एण्ड सायर–बिएन–त्रिशक्ति जेभीले ५ करोडमा ठेक्का लिएको थियो । २ वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित विसं २०७५ माघ २२ गते सम्झौता गरेका ठेकेदारले हालसम्म २ करोड मात्र भुक्तानी लगेको कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर प्रभाकर कर्णले बताएका छन् ।

विसं २०७७ माघ २२ गतेसम्म म्याद रहेको आयोजनाका ठेकेदारले १ वर्षदेखि काम गरेका छैनन् । १ हजार ४ सय मिटर सडक कालोपत्र गर्ने लक्ष्य रहेकामा मंगलाघाटको तल्लो बजार क्षेत्रमा करिब २ सय मिटर सडक ढलान भने २०७५ साउनमै गरिएको निर्माण कम्पनीका प्रतिनिधि नारायण जिसीले बताए । ‘लकडाउनले रोकिएको कालोपत्र गर्ने कामलाई चैत महिनाभित्र सक्न प्लान्ट स्थापना गर्न लागिएको छ ।’ उनले भने, ‘यसअघि गरिएको कामको समेत भुक्तानी पाएको छैन । यसपटक ८० लाखमात्र बजेट विनियोजन भएको छ ।’

यो सडकमा गर्ने भनिएको अक्सपाल्ट प्रविधिको कालोपत्रका लागि गर्मी मौसम आवश्यक पर्छ । चिसोमा सेटिङ हुँदैन । ‘नाली बनाउने, सडक फराकिलो र पर्खाल लगाउने काम सकिएको छ ।’ सिभिजनल इञ्जिनियर कर्णले भने, ‘बेस र सवबेससमेत राखिसकेका छन् ।

६ महिना म्याद थप गर्न प्रक्रिया अघि बढाइएको छ ।’ ठेक्काअनुसार गर्नुपर्ने कामको परिणाम पु¥याउन भेरिएसन अर्डर (भिओ) भइरहेको छ । सघन सहरी कार्यालय, प्रशासन, नगरपालिका र ठेकेदारबीच गत महिना भएको छलफलमा माघ महिनाभित्र अक्सपाल्टको प्लान्ट स्थापना गर्ने सहमति भए पनि अहिलेसम्म कार्यान्वयन नगरेका बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले बताए । रासस

कमेन्टहरु
Loading...