चितवन । नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई प्रधानमन्त्री पदको कुनै लोभ नभएको बताएका छन् । पार्टी विभाजनको बाटोमा लाग्नुमा प्रचण्ड प्रधानमन्त्री पदको आकांक्षी भएको आरोप लागिरहेको अवस्थामा अध्यक्ष प्रचण्डले आज चितवनको भरतपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै आफूलाई प्रधानमन्त्री पदको कुनै लोभ नभएको स्पष्टोक्ति दिएका हुन् । प्रधानमन्त्री पदको लोभले आन्दोलन गरिररहेको छ भन्ने भ्रमबाट सबै जना मुक्त हुन उनले कार्यक्रममा आग्रह गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर संविधानमार्थि नै प्रहार गरेपछि बाध्य भएर आफू आन्दोलनमा होमिनुपरेको उनको दावी थियो । प्रतिनिधिसभा विघटन पश्चात् राष्ट्रमा राजनैतिक संकटको अवस्था सिर्जना भएको र सोही समस्या समाधानका लागि प्रतिपक्षी दलको डिमाण्डलाई आफूले पूरा गरेको प्रचण्डले बताएका छन् । ओलीविरुद्धको आन्दोलनलाई संयुक्त रुपमा अगाडि बढाउने विषयमा प्रतिपक्षी दलसंग छलफल जारी रहेको जानकारी दिंदै प्रचण्डले हिजोमात्र कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेको बताए ।
प्रतिनिधिसभा विघटन हुनु असंवैधानिक भएको र निर्वाचन सम्पन्न भएको अवस्थामा समेत देशको समस्या समाधान नहुने उनको दावी थियो । प्रतिनिधिसभा विघटनको विपक्षीमा ओली निकटका ९० प्रतिशत सांसदहरु नै रहेको उनले बताएका छन् ।
कुनै स्थानमा सुटुक्क राखेर सोध्ने हो भने ओली पक्षका सांसदले समेत प्रतिनिधिसभा विघटन असंवैधानिक र गलत कदम हो, केपी ओलीले बर्वाद् पार्नुभयो भन्नेहरु भेटिने उनले दावी गरेका छन् ।
प्रतिनिधिसभा विघटनका विषयमा हाल सर्वोच्च अदालतमा मुद्दा विचाराधीन अवस्थामा नै रहेको र अदालतले समेत जनताको मत तथा संविधान र जनभावनाको कदर गर्दै प्रतिनिधिसभा पुनःस्थापनाको पक्षमा नै फैसला गर्नेमा आफूलाई पूर्ण विश्वास रहेको उनले बताएका छन् ।