पोखरा । नेपाल कम्युनिस्ट पार्टी नेकपा ओली पक्षका नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले वैशाखमा निर्वाचन हुन्छ र भन्ने प्रश्न गर्ने भन्दै निर्वाचन हुने र प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाले बहुमत ल्याउने बताएका छन् ।
वैशाखको निर्वाचन कुनै पनि हालतमा स्थगित नहुने उनको दावी थियो । बुटवलमा आज आयोजना भएको ओली नेतृत्वको नेकपाको आम सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले निर्वाचनमा रोल्पा तथा रुकुममा नेकपा ओली पक्षले जित्ने दावी गरेका छन् । ‘रुकुम रोल्पा जिल्ला, जहाँ प्रचण्डले जे भन्यो त्यही हुन्छ भन्ने गरिन्छ, उक्त जिल्लामा ओली समुहले जित्ने अवस्था आउँदै छ ।’
प्रचण्ड २ पटक प्रधानमन्त्री बनाएको भए पनि पुष्पकमल दाहाललाई प्रचण्ड बनाउनेलाई नै बिर्सिएको उनले आरोप लगाएका छन् । आफू पदमा पुगिसकेपछि पूर्व लडाकुहरुलाई प्रचण्डले वेवास्ता गरेको तथा प्रधानमन्त्री ओलीले उनीहरुलाई साथ दिएको उनको दावी छ ।
निर्वाचनमार्फत् नागरिकमाझ जान प्रचण्ड–नेपाल समुह डराएको उनको आरोप रहेको थियो । पूर्व एमालेका केही व्यक्तिलाई लिएर उकालो लागिरहेको भन्दै पोखरेलले ओलीलाई अपदस्थ गर्न खोज्दा उनीहरु नै सडकमा पुगेर हामी यहाँ छौं भन्न बाध्य भएको उनले बताए ।
निर्वाचन आयोगले समेत नेकपाको प्रथम अध्यक्षका रुपमा प्रधानमन्त्री समेत केपी शर्मा ओलीलाई र पार्टी महासचिवका रुपमा विष्णु पौडेललाई मात्र चिनेको उनले बताए । आधिकारिकताको विवादमा अब अल्मलिएर बस्न नहुने उनले बताएका छन् ।