नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहले प्रतिनिधिसभा विघटनको विरोध गर्दै आज काठमाडौँमा शक्ति प्रदर्शन गरेको छ । संविधानमा प्रतिनिधिसभा विघटन गर्ने अधिकार नरहेको जनाउँदै सो समूह गत पुस ५ गतेदेखि आन्दोलित छ । प्रतिनिधिसभा विघटनसम्बन्धी हाल मुद्दा सर्वोच्च अदालतमा विचराधीन छ ।
सभालाई सम्बोधन गर्दै सो समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानमा प्रतिनिधिभा विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई नरहेको जिकिर गर्दै संसद् पुनःस्थापना नभए आन्दोलनको आँधीबेहरी सिर्जना गर्ने चेतावनी दिए ।
उनले भने , “अहिलेको शान्तिपूर्ण आन्दोलनको सुनुवाइ नभए शान्तिपूर्ण आन्दोलन हुँदै जनविद्रोह हुन्छ ।”
उनले सडकमा आएका जनताका आवाजलाई सुन्न आग्रह गर्दै जनताको आवाजलाई संवैधानिक निकायले पनि सुन्नुपर्ने जिकिर गरे ।
“शान्तिपूर्ण आन्दोलन विद्रोहमा गयो भने के हुन्छ रु आँधी आउँछ, हुरी चल्छ, कसैले थाम्न सक्दैन”, उनले भने, “हिजो हामी सानो समूहले विद्रोह गर्दा के भयो रु अब शान्तिपूर्ण विद्रोह ‘ग्रिन रिभोलुसन’ हुन्छ । शान्तिपूर्ण क्रान्ति हुन्छ ।”
नेकपामा विवाद देखिएसँगै ध्रुवीकरण शुरु भएको जिकिर गर्दै अध्यक्ष दाहालले पार्टीबाट बाटो विराएकाहरु ढिलोचाँडो आफूहरु भएकै ठाउँमा आउने बताए । उनले आफ्नो समूहमा फर्कनको सूची निकै लामो रहेको दाबी गरे ।
अहिलेको सङ्घर्ष केही व्यक्ति र पदका लागि नभएको प्रष्टीकरण दिँदै अध्यक्ष दाहालले कुर्सीका लागि नभई जनताको मुक्ति र हितका लागि आन्दोलन गर्नुपरेको बताए । “विरोधीहरुले कुर्सीका लागि ‘यी बुढाहरू’ लागेको भन्ने गरेका छन्, तपाईहरुलाई पनि खै, कुर्सीकै लागि लडेका हुन् कि भन्ने परेको हुनसक्छ ।” उनले भने ।
सभाअघि राजधानीका विभिन्न पाँच स्थानबाट जुलुस निकालिएको थियो । माइतीघर, पुल्चोक, जमल, कुपण्डोल र लैनचौरबाट जुलुस भएको थियो । पाँचै स्थानको जुलुस सुन्धारामा पुगेर मूल जुलुसमा परिणत भएको थियो । सभाका लागि पुरानो बसपार्क, प्रदर्शनी मार्ग र भद्रकालीका बीचमा ‘टी’ आकारमा बस्न मिल्ने गरी मञ्च तयार गरिएको थियो ।