काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग आयोगले आफूले मुद्दा दायर गर्नुभन्दा अगाडि तथ्यका आधारमा यकिन भएपछि मात्र मुद्दा दायर गर्नुपर्ने बताएका छन् । अख्तियार दुरुपयोग आयोगले अपराध गरेको भएमा कारवाही गर्न कसैलाई छोड्दैन भन्ने देखाउने बेला आएको प्रधानमन्त्री ओलीको भनाई थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३० औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भ्रष्टाचार नियन्त्रणका कार्यहरु संयुक्त राष्ट्र संघ लगायतलाई देखाउन नभएर समाजलाई स्वच्छ तथा सभ्य ढंगले अगाडि बढाउन भएको बताएका छन् ।
कोरोना भाइरस संक्रमणको दर नेपालमा धेरै कम भइसकेको जानकारी दिंदै प्रधानमन्त्री ओलीले नेपालमा यसविरुद्धको खोप फेरी ल्याउने तयारीमा भएको बताए । कोरोना भाइरसविरुद्धको खोप ल्याउन केही कानुनी समस्या आएको उनको भनाई थियो । कोरोनाविरुद्ध सकारात्मक कार्यहरु सरकारले गरेको भएपनि यहाँ नकारात्मक विषयमात्र बाहिर ल्याएको प्रधानमन्त्री ओलीको आरोप रहेको थियो ।
भ्रष्टाभचार आफूहरुको साझा समस्या भएको र यसलाई आफूले सुन्य सहनशीलता भएको प्रधानमन्त्री ओलीले बताएका छन् । आफूलाई भ्रष्टाचारबाट मुक्त राख्न आफैंसंग प्रतिबद्धता व्यक्त गर्नुपर्ने उनको भनाई थियो ।
भ्रष्टाचारीलाई सजाय दिन कुनै पनि विषयमा सम्झौता गर्न नहुने उनले बताए । सरकार हाल बिस्तारै डिजिटल माध्यममा प्रवेश गरेकाले अबको समयमा नेपालमा भ्रष्टाचारमा कमी उनले अपेक्षा गरे ।
भ्रष्टाचार न्युनीकरणको अभियान सबै नेपालीको ऐक्यबद्धता हुनुपर्ने समेत उनले बताएका छन् ।