राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसद् विघटनको सम्वन्धमा सर्वोच्च अदालतको निर्णय नै अन्तिम हुने बताएका छन् ।
पर्वतको महाशीला गाउँपालिकामा आज आयोजित पोखरा–पामे–रिडी राष्ट्रिय राजमार्गअन्तर्गत मिलनचोक–भोक्सिङ–पैंयुँभञ्ज्याङ–सुभद्रखर्क खण्डको शिलान्यास तथा महेन्द्र ज्योति माविमा नवनिर्मित चार कोठे भवनको उद्घाटन कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले संसद् विघटनबारे सर्वोच्च अदालतमा बहस भइरहेको र जे फैसला गर्छ सोहीअनुसार अघि बढ्नुपर्ने बताए ।
सर्वोच्च अदालतको अन्तिम फैसला सबैले मान्नुपर्ने उहाँको भनाइ छ । “अदालतले संसद् विघटन ठीक छ भन्यो भने चुनावमा जानुप¥यो, ठीक छैन भन्यो भने संसद् पुनःस्थापना पनि हुन्छ”, उनले भने। उनले संविधानले सबै अधिकार नागरिकलाई दिएको बताउँदै संविधानको रक्षा र संविधानले दिएका अधिकारको उपभोगका लागि पनि चुनाव हुनुपर्ने बताए । अध्यक्ष तिमिल्सिनाले मुलुक यतिबेला विकास निर्माणको तीव्र गतिमा अघि बढेको बताउँदै निर्वाचन होला नहोला भन्नेतर्फ चिन्ता नलिइकन विकास निर्माणका कामलाई गति दिन पनि आग्रह गरे ।
यस वर्षदेखि प्रत्येक खरका छाना भएका घरपरिवारलाई रु ५० हजारका दरले वितरण गरेर जस्ताका छाना छाउने अभियान थालिएको बताउँदै दुई वर्षभित्र जिल्लानै खरका छानामुक्त हुने विश्वास दिलाउए। उनले विकास निर्माणका काम गाउँ केन्द्रित हुने तर नागरिक शहर केन्द्रित भइरहेको बताउँदै गाउँमै बसेर उद्यमशील बन्न आग्रह गरे ।
कार्यक्रममा गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्सालले आगामी वैशाख १७ र २७ गते जुनसुकै अवस्थामा पनि निर्वाचन हुने ठोकुवा गरे । प्रधानमन्त्री केपी शर्मा ओलीले समेत निर्वाचन एक दिन पनि पछि नसर्ने बताउँदै आएको भन्दै निर्वाचनको तयारीमा लाग्न आग्रह गरे ।
जिल्ला समन्वय समितिका प्रमुख मनोहर बि पौडेलले पछिल्लो तीन वर्षमा जिल्लामा अभूतपूर्व विकास भएको बताउँदै आगामी निर्वाचनमा पनि बाँकी कार्यभार र आयोजना पूरा गर्न नेकपालाई नै विजयी गराउनुपर्नेमा जोड दिए । उनले विकास निर्माणका काममा तीनै तहका सरकारको समन्वय र सहकार्य हुन जरुरी रहेको बताउँदै तीनै तहको सहकार्यबाट मात्र छिट्टै समृद्धि हासिल गर्न सकिने बताए ।