निर्वाचनको तयारी निरन्तररुपमा अगाडि बढाउनुस्ः प्रधानमन्त्री ओली

काठमाडौं । निर्वाचन आयोगलाई प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनको तयारीका विभिन्न कामलाई निरन्तररुपमा अगाडि बढाउन आग्रह गरेका छन् । प्रधानमन्त्री ओली आज निर्वाचन आयोगमा पुगेका थिए । सोही समयमा आयोगलाई प्रधानमन्त्री ओलीले निर्वाचनको तयारीका कार्यलाई अगाडि बढाउन आग्रह गरेको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् । प्रधानमन्त्री ओलीलाई निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले निर्वाचनको तयारीका विषयमा जानकारी गराएका थिए ।

भेटका क्रममा प्रमुख आयुक्त थपलियाले निर्वाचनको तयारीका लागि आवश्यक पर्ने बजेट तथा बन्दोबस्तीका सामान लगायतका विषयमा जानकारी गराएको थापाले बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी नेकपाको आधिकारिकताका विषयमा पत्रकारहरुले गरेको प्रश्नमा थापाले प्रधानमन्त्री ओली निर्वाचन आयोगमा जानुको उद्देश्य त्यो नभएको बताएका थिए ।

गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि प्रधानमन्त्री ओली पहिलोपटक आज निर्वाचन आयोग पुगेका हुन् । उपप्रधानमन्त्री ईश्वर पोखरेल, नेकपा ओली पक्षका नेता सुवासचन्द्र नेम्वाङ तथा नेकपा महासचिव विष्णु पौडेलका साथमा प्रधानमन्त्री ओली आज निर्वाचन आयोग पुगेका थिए । प्रधानमन्त्री ओलीको प्रतिनिधिसभा विघटनको सिफारिसलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सदर गरेकी थिइन् । प्रतिनिधिसभा विघटन भए पश्चात् नेकपा हाल २ खेमामा बाँडिएका छन् ।

कमेन्टहरु
Loading...