बुधबारदेखि पश्चिमी वायु फेरि प्रवेश, २ दिनपछि पानी पर्ने

काठमाडौं । यस वर्ष हिउँद याममा करीब ५ महिनापछि गत शनिबार राजधानी काठमाडौंसहित देशभर हल्का वर्षा भयो । मौसमविद्हरुले मौसम पूर्वानुमान गर्दै वर्षातपछि क्रमशः तापक्रम वृद्धि भई गर्मी बढ्ने पूर्वानुमान गरेका थिए ।

नेपालमा पश्चिमी वायु प्रवेश गरी गत बिहीबारदेखि शनिबारसम्म मौसम बद्ली हुनका साथै शनिबार अपरान्ह हल्का वर्षा पनि भएको थियो । आइतबार बिहानैदेखि साँझसम्म पारिलो घाम लागे पनि बिहान र साँझ पख चिसो बढेको थियो । मौसमी प्रणालीमा केही परिवर्तन आउने भएकाले अझै केही दिन चिसो हुने र नयाँ मौसमी प्रणालीको विकास भई २ दिनपछि वर्षात हुने मौसमविद्को भनाई छ ।

मौसमविद् सजिना शाक्यले आगामी बुधबारदेखि नेपालमा पश्चिमी वायु फेरि प्रवेश गरी वर्षा र हिमपातको सम्भावना रहेको बताइन् । उनका अनुसार पश्चिमी वायुको प्रभावले पश्चिमी पहाडी भू–भाग तथा अन्य पहाडी भेगमासमेत बदली र हल्का वर्षाको सम्भावना रहेको छ । ३ दिनसम्म हल्का बदली र थोरै स्थानमा वर्षा हुनेछ । यो क्रम फेब्रुअरी महिनाभर जारी रहनेछ ।

अब विस्तारै तापक्रम वृद्धि भई गर्मी बढ्दै जाने बताइएको छ । राजधानी काठमाडौंसहित देशभर दिउँसोपख घाम लागे पनि चिसो अझै रहने भएकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै महाशाखाले चिसो अझै रहने तथा तराईका भू–भागमा हुस्सु र कुहिरोको अझै सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।

आज सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ । रातिको समयमा सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ ।

भोलि मंगलबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने छ । आगामी २८ गते बुधबार देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको छ । रासस

कमेन्टहरु
Loading...