भारतको बिहारमा १२ वर्षीय नेपाली बालिकाको सामुहिक बलात्कारपछि हत्या

काठमाडौं । भारतको विहारस्थित पूर्वी चम्पाचरण जिल्लामा १२ वर्षीय नेपाली बालिकाको सामुहिक बलात्कारपछि हत्या भएको छ । हत्यापश्चात् ती बालिकाको शवलाई जबरजस्ती जलाइएको छ ।

नेपालको बर्दिया जिल्ला बारबर्दिया नगरपालिका वडा नम्बर ३ घर भएकी ती बालिका आफ्नो परिवार सहित बस्दै आएकी थिइन् । उनको परिवार उक्त स्थानमा मजदुरीका लागि पुगेको थियो । मृतक बालिकाका परिवार विगत ७ वर्षदेखि मोतीहारीको कुंडुवा चैनपुरमा मजदुरी गर्दै आइरहेका थिए । ती बालिकाको २१ जनवरीमा सामुहिक बलात्कारपछि हत्या भएको हो ।

सामुहिक बतात्कारपछि हत्या हुनुभन्दा केही अगाडिको समयमा बालिकाकी आमा नेपाल फर्किएकी थिइन् । बालिकाका बुबाले प्रहरीलाई दिएको जानकारी अनुसार उक्त दिन अपरान्ह करिब ४ बजेको समयमा बालिकाका दाजु बजारबाट घर फर्किएका थिए । बालिकाका दाजुलाई घरबेटी सियारामले घरभित्र पस्न दिएनन् । तर घरबेटीको कुरालाई नसुनेर भित्र पस्दा बालिका भुईमा घाइते अवस्थामा थिइन् । त्यसपछि आत्तिएर उनले आफ्नो बुबालाई फोन गरेका थिए । छोराले फोनमा सबै घटनाका विषयमा जानकारी दिएपछि उनी घर पुग्दा बालिका भुईंमा घाइते अवस्थामा थिइन् भने उनको घाँटीमा राता–राता निशानहरु थिए ।

छोरीलाई घाइते अवस्थामा नै स्थानीय अस्पतालमा उपचारका लागि लगिएको भएपनि डाक्टरहरुले उपचार गर्न नमानेको बालिकाका बुबाले आरोप लगाएका छन् । उपचार गर्न नपाएपछि बालिकाको ज्यान गएको थियो ।

बालिकाका बुबाका अनुसार घटनापछि धेरै व्यक्तिहरु घटनास्थलमा उपस्थित भएर शव जलाउन दवाव दिइएको थियो । प्रहरीको मिलेमतोमा नै बालिकाको शव जबरजस्ती जलाइएको उनले आरोप लगाएका छन् । ‘देवेन्द्र कुमार साहले शव छिटो जलाउने भन्दै दवाव दिए, धम्कीको भाषमा उनले शव छिटो नजलाए तिमीलाई पनि तिम्रो छोरीलाई जस्तै हत्या गरेर नेपालमा लगेर फ्याकिदिन्छौं ।’ उनले दायर गरेको मुद्दामा भनिएको छ, ‘त्यसपछि एउटा सादा कागजमा औंला छाप लगाउन पठाए, त्यसपछि राति १२ गते जबरजस्ती पोखर रोडमा सडक किनारमा लगेर नुन तथा चिनी छर्किएर मेरो छोरीको शव जलाइयो र मलाई भोलिपल्ट बिहानै नेपाल भगाइयो ।’

घटना २१ जनवरीको भए पनि २ फेब्रुअरीमा मात्र मुद्दा दर्ता भएको छ । ११ जनाविरुद्ध मुद्दा दर्ता गरिएकोमा ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा विनय साह, दीपककुमार साह, देवेन्द्रकुमार साह तथा रमेश साह रहेका छन् । पक्राउ परेका ४ जना बाहेक अन्य ७ जनामध्ये १ जना बालिकाको परिवार बस्दै आएको घरका मालिक सियाराम साह समेत रहेका छन् । सियारामविरुद्ध शवलाई जबरजस्ती जलाएको तथा घटनाको प्रमाण नष्ट गरेको आरोप लगाइएको छ ।

मुद्दा दर्ता भइसकेपछि यतिबेला ५ फेब्रुअरीको एउटा अडियो भाइरल भएको छ । सो अडियोमा २१ फेब्रुअरीमा कुंडुवा चैनपुरका थानाध्यक्ष सञ्जीवकुमार रञ्जन तथा अभियुक्तमध्येका १ रमेश साहबीच कुराकानी भइरहेको छ । अभियुक्त रमेश थानाध्यक्ष रञ्जनसंग भनिरहेका छन्, ‘बालिकालाई व्यस्थापन गरिदिनुस् र लेख्नुस् कि बालिका चिसो लागेर बितेकी हुन् ।’

एसपी नवीनचन्द्र झाले यो घटनामा २ जना नामुद अभियुक्त पक्राउ परिसकेको बताएका छन् । अन्य फरार अभियुक्तलाई पक्राउका लागि अनुमण्डल पुलिस पदाधिकारी, सिकहरनाको नेतृत्वमा एसआइटीको गठन गरिएको छ । भाइरल भएको उक्त अडियोबाट समेत स्थानीय थानाध्यक्ष रञ्जनको मद्दतबाट नै यो सबै घटना भएको प्रमाणित हुने झाले बताए । थानाध्यक्ष रञ्जनले लापरवाही तथा कर्तव्यहीनतापूर्ण कार्य गरेको भन्दै उनललाई निलम्बन गरिएको एसपी झाले बताएका छन् । यदि घटनामा उनको संलग्नता भएको प्रमाणित भए रञ्जनविरुद्ध एफआइआर समेत दर्ज हुने झाले जानकारी दिएका छन् । बिबिसी हिन्दीबाट

कमेन्टहरु
Loading...