भोलिबाट कोरोनाविरुद्धको खोपको दोस्रो अभियान सुरु हुँदै, पत्रकारका लागि सुचना विभागबाट जारी प्रेस प्रमाणपत्र अनिवार्य

काठमाडौं । नेपालमा भोलिबाट कोरोना भाइरसविरुद्धको दोस्रो चरणको खोप अभियान सुरु हुने भएको छ । पहिलो चरणको खोप अभियान सम्पन्न भएलगत्तै भोलिबाट सरकारले खोप अभियानको दास्रो चरण सुरु गर्ने भएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले दोस्रो चरणको खोपका लागि पत्रकार सहित युएन एजेन्सीका कर्मचारी, दुतावासका कर्मचारी लगायतलाई प्राथमिकतामा राखिएको जानकारी दिएका छन् ।

सम्बन्धित सबैलाई शुक्रबारसम्म खोप लगाएर सक्ने मन्त्रालयको तयारी रहेको छ । डा.गौतमका अनुसार काठमाडौंको शिक्षण अस्पताल, सहीद गंगालाल, सिभिल अस्पताल तथा ललितपुरको पाटन अस्पतालमा दास्रो चरणको खोप लगाइने भएको छ ।

पत्रकारहरुले काठमाडौंको सिभिल अस्पतालमा कोरोना भाइरसविरुद्धको खोप लगाउन पाउने छन् । खोप लगाउनका लागि पत्रकारहरुसंग सुचना विभागबाट जारी प्रेस प्रमाणपत्र अनिवार्य रुपमा हुनुपर्ने प्रवक्ता डा.गौतमले जानकारी दिएका छन् ।

त्यस्तै बाँसबारीमा रहेको सहीद गंगालाल अस्पतालमा दुतावास तथा कुटनीतिक नियोगमा कार्यरत व्यक्तिहरु सहित विदेशी कर्मचारीमा आश्रित व्यक्तिहरुले कोरोना भाइरसविरुद्धको खोप लगाउन सक्ने छन् ।

यता पाटन अस्पतालमा युएन एजेन्सीमा कार्यरत व्यक्तिहरुले खोप लगाउने पाउने भएका छन् ।

प्रवक्ता डा.गौतमका अनुसार खोप लगाउनका लागि पहिलो चरणको जस्तो सुचीकृत गर्नका लागि अनलाइनमार्फत् फर्म भर्न पर्ने छैन । अन्य समुहका व्यक्तिलाई समेत खोप लगाउने विषयमा आज छलफल गरेर निर्णय हुने भएको छ ।

कमेन्टहरु
Loading...