काठमाडौं । पहिलो चरणको कोरोना भाइरसविरुद्धको खोप १ लाख ८४ हजार ८ सय ५७ जनाले लगाएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार भारत सरकारले उपलब्ध गराएको खोप ‘कोभिशिल्ड’ देशभरका २ सय १ खोप केन्द्रबाट १ लाख ८४ हजार ८ सय ५७ जनालाई दिइएको छ ।
जसअनुसार प्रदेश नं १ मा २४ हजार २ सय २४, प्रदेश नं २ मा २५ हजार ६ सय ३७, वाग्मती प्रदेशमा ६३ हजार ३ सय ८, गण्डकी प्रदेशमा १८ हजार ४ सय ७२, लुम्बिनी प्रदेशमा २८ हजार ९ सय ४१, कर्णाली प्रदेशमा नौ हजार ४ सय २० र सुदूरपश्चिम प्रदेशमा १४ हजार ८ सय ५५ जना छन् ।
मन्त्रालयले यही माघ १४ गतेदेखि पहिलो चरणमा कूल जनसंख्याका ३ प्रतिशतलाई खोप लगाउनेमध्ये प्राथमिकतामा परेका व्यक्तिलाई खोप प्रदान गरेको थियो । खोप अभियान शनिबार सम्पन्न भएको थियो ।
मन्त्रालयले पहिलो चरणका लागि ल्याइएका खोप प्राथमिकताका आधारमा अर्को चरणमा लगाउने भएको छ । नेपालमा कूल जनसंख्याको ७२ प्रतिशतलाई खोप लगाउने सरकारको योजना छ । मन्त्रालयका प्रवक्ता डा गौतमले कुनै अवाञ्छित घटना नभई खोप अभियान सफलतापूर्वक सम्पन्न भएको बताएका छन् । भारत सरकारले अनुदानमा १० लाख मात्रा खोप उपलब्ध गराएको थियो । यस्तै चीन सरकारले पनि नेपाललाई ५ लाख मात्रा खोप उपलब्ध गराउने भएको छ । रासस