सहरी स्वास्थ्य केन्द्र वडा ५ ले गर्‍यो किशोर–किशोरीहरुका लागि स्वास्थ्य परामर्श तथा अन्तरक्रिया

राजु गिरी, पोखरा ।

पोखरा महानगरपालिका वडा नं. ५ को सहरी स्वास्थ्य केन्द्रले किशोर–किशोरीहरुका लागि स्वास्थ्य परामर्श तथा अन्तरक्रिया गरेको छ । स्वास्थ्य केन्द्रले किशोर–किशोरीमैत्री सेवा दिनका लागि किडासा र सिडब्लुएसएनको सहकार्यमा आज केन्द्रको सभाहलमा अन्तरक्रिया गरेको हो ।

अन्तरक्रियामा पोखरा महानगरपालिकाका प्रवक्ता एवं वडा ५ का वडाध्यक्ष धनबहादुर नेपालीले सबैको सहभागिता गराउन सकिएमा मात्र सफल हुन सकिने बताए । स्वास्थ्यमा सचेतनाका कार्यहरु भैरहेको र यस क्षेत्रमा साथ दिन परे आफु तयार रहेको प्रतिवद्धता व्यक्त गरे ।

त्यसैगरि बाल हितकारी परियोजना (सिडब्लुएसएन)का अध्यक्ष गोबिन्दराज पहारीले सचेत वर्ग संवेदनशिल हुनु पर्नेमा जोड दिए । किशोर–किशोरीलाई स्वास्थ्यका बारेमा समयमै बुझाउन नसकिएमा उनीहरु कुलतमा फस्न सक्ने पहारीको भनाई छ ।

 

 

त्यस्तै किडासाका संजय आत्रेयले सेवा लिन धेरै कम आउने भएकाले कोशोर–किशोरीहरुमा स्वास्थ्य केन्द्रको प्रभावकारिता बढाउन आवश्यक रहेको बताए ।

सहरी स्वास्थ्य केन्द्र वडा नं. ५ का अध्यक्ष उज्वल खत्रीले निशुल्क दिइरहेको सेवाको उपयोग गर्न सबैलाई अनुरोध गरे । केन्द्रलाई किशोर–किशोरीमैत्री बनाउँदै सबै उमेर समूहका लागि थप सेवा विस्तार गर्न प्रयासरत रहेको समेत उनले बताए ।

आधारभुत स्वास्थ्य सेवा, उपचारात्मक सेवा, खोप सेवा, परिवार नियोजन सेवा, गर्भवती सम्वन्धी सेवा, रोग नियन्त्रण सेवालगाएत सचेतनाका कामहरु केन्द्रबाट भैरहेको सहरी स्वास्थ्य केन्द्र वडा ५ का प्रमुख हेल्थ असिस्टेन्ट आशिक सुवेदीले जानकारी दिए ।

कमेन्टहरु
Loading...