पोखरा । पोखरामा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटन विरुद्ध आज पनि नागरिक आन्दोलन भएको छ । कार्यक्रममा बोल्दै नागरिक आन्दोलनका अभियन्ता युग पाठकले शीतलनिवास तथा बालुवाटार हालका लागि राजदरबार भएको बताएका छन् । यो पटकको प्रतिगमनको विरुद्धमा उठेर पराजित गरिछाड्ने उनले प्रतिबद्धता व्यक्त गरे ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रवादको नारा लगाएर आफूलाई चित्त नबुझ्दा प्रतिनिधिसभा विघटन गरेको उनको आरोप थियो । प्रधानमन्त्री ओलीले भारतबाट रअलाई डाकेको केही दिनमा नै संविधानमा हुँदै नभएको धाराको प्रयोगबाट प्रतिनिधिसभा विघटन गरेको उनको भनाई छ ।
अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरुले मुलुकलाई प्रयोग गरिरहेको र प्रयोगका लागि केपी ओलीले नै प्रोत्साहन गरिरहेको उनले बताए । राजनीतिक दलहरुप्रति नेताहरुले नागरिकलाई वितृष्णा जगाउन मद्दत गरेको पाठकको भनाई रहेको छ । नेपालको राजनीतिबाट कोही पनि खुसी नभएको र सबैमा निराशापन भएको उनको दावी थियो ।
नागरिहरु अब आफैं सचेत भएर अगाडि बढ्नुपर्नेमा उनले जोड दिए । आफूहरु सत्ता नभएर सचेत नागरिक भएको उनले दावी गरेका छन् । नागरिक आन्दोलनले लोकतन्त्रलाई जोगाउन मद्दत गर्ने उनको भनाई थियो ।
नागरिक आन्दोलन टाउको गन्ने आन्दोलन नभएर विचार व्यक्त गर्ने आन्दोलन भएको उनले बताएका छन् ।
पोखरामको पृथ्वीचोकमा आयोजना गरिएको कार्यक्रममा कविता वाचन तथा नाट्यकर्मीहरुले प्रतिगमनविरुद्ध प्रस्तुती दिएका थिए ।