पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू पक्षको नेकपा नै आधिकारिक तथा लोकतन्त्र रक्षाका लागि एकमात्र पार्टी भएको बताएका छन् । आज काठमाडौंमा आयोजित आफू पक्षको जनसभालाई सम्बोधन गर्दै ओलीले जनसभामा सहभागीहरुको भीडबाट नै आफूहरु आधिकारिक पार्टी भएको प्रमाणित भइसकेको दावी गरेका छन् ।
आजबाट नै आफूहरु मुल पार्टी भएको प्रमाणित भइसकेको उनको भनाई थियो । नेकपा प्रचण्ड–नेपाल पक्षले आफूहरुलाई क्रान्तिकारी भन्दै आजको जनसभामा आउन नदिनका लागि कथित आन्दोलनका नाममा नेपाल बन्द गरिएको प्रधानमन्त्री ओलीले आरोप लगाएका छन् । घोषणा नै गरेर अब साकाहारी आन्दोलनले हुँदैन भनिएको उनले बताए । ‘उहाँहरुले नरभंक्षी आन्दोलन गर्न खोज्नुभयो, म भन्नु चाहन्छु, अब नेपालमा नरभंक्षी आन्दोलन गर्ने होइन, नेपाली नागरिक शान्ति चाहन्छन् ।’ उनले भने ।
नेपाल बन्दमा भएका क्षतिका आधारमा सरकारले क्षतिपूर्ति दिने प्रधानमन्त्री ओलीले प्रतिबद्धता व्यक्त गरेका छन् । ट्याक्सी चालकले इन्सुरेन्स गराएको अवस्थामा इन्सुरेन्सको रकम दिलाउन तथा अन्य क्षतिको क्षतिपूर्ति दिइने उनले प्रतिवद्धता व्यक्त गरेका छन् । ‘बद्मासी उहाँहरु गर्नुहुन्छ, क्षतिपूर्ति हामी दिन्छौं ।’ उनले भने, ‘हिजो काठमाडौं आउनेलाई रोक्न नेपाल बन्द गरियो, तर्साउन खोजियो । कतिपय स्थानमा बम राखेर विप्लव लेखियो ।’ कोही नागरिकको आफ्नो नभएमा सरकार उनीहरुको साहरा बन्ने उनले दावी गरे ।
प्रधानमन्त्री ओलीले आफूले देशका लागि काम गर्ने बित्तिकै सरकारबाट हटाउने कोसिस हुने गरेको बताएका छन् । ‘पहिलो पटक उत्तरतर्फ नाका खोल्दा मलाई प्रधानमन्त्रीबाट हटाइयो ।’ उनले भने, ‘अहिले देशको सबै भूभागलाई समेटिएर नक्सा सार्वजनिक गरें, त्यसपछि फेरी अहिले मलाई प्रधानमन्त्रीबाट हटाउने खेल खेल्न सुरु गरियो ।’ लामो समयदेखि नै संवैधानिक निकायहरुमा नियुक्तिपश्चात् नै नेपाल बन्द गरिएको उनले आरोप लगाएका छन् । धेरै समय विभिन्न कारणहरु देखाएर विभिन्न आयोगहरुमा नियुक्त गरिएको भन्दै प्रधानमन्त्री ओलीले त्यसको विरोध गर्नु नै जनमतको उपेक्षा गर्नु भएको बताएका छन् ।
काम गर्नै नपाउने अवस्था आएपनि आफूले जनताको बीचमा जाने निर्णय गरेको प्रधानमन्त्री ओलीले स्पष्ट पारका छन् । आफूलाई काम गर्न नदिएको उनले पुनः दोहो¥याएका छन् । काम गर्न खोज्दा विभिन्न बहानामा आफूलाई बाहाना बनाएर अवरोध गरिएको उनले आरोप लगाए । निर्वाचनमार्फत् जनतामाझ जानु कुनै पनि हालतमा प्रतिगामी नभएको उनको भनाई थियो । ‘अथिरता होइन, चुनावतर्फ जाउँ ।’ उनले भने, ‘देश चुनावतर्फ गयो, गयो, अब चुनावले फैसला गर्छ, कसको नेतृत्वमा सरकार बन्छ, निर्वाचनले निर्णय गर्छ ।’
प्रचण्ड–नेपाल समुहले निर्वाचन आयोगमा गएर निर्वाचनको तयारी नगर भन्दै धम्की दिने कार्य गरेको प्रधानमन्त्री ओलीले आरोप लगाएका छन् । आफूलाई धम्कीको भाषा प्रयोग गर्न नआउने भन्दै प्रधानमन्त्री ओलीले कसैले पनि लोकतन्त्र खोस्न नसक्ने दावी गरेका छन् । ‘नेपाली जनता सचेत छन्, यहाँ लोकतन्त्रलाई केही गर्छु भनेर नसोचे पनि हुन्छ, देशलाई प्रतिगामीतर्फ लान्छु भन्ने नसोचे पनि हुन्छ ।’ उनले भने ।
संसद विघटनको बहसलाई जबरजस्ती रुपमा निकालिएको उनले आरोप लगाएका छन् । संसदीय प्रणालीमा प्रधानमन्त्रीले काम गर्न नपाउने अवस्था भएमा संसद विघटन गर्ने उनले दावी गरे । आफूहरुकै बलमा संसदमा गएर सरकारलाई काम गर्न नदिने अनि सरकारलाई काम गर्न नदिने भन्दै प्रधानमन्त्री ओलीले निर्वाचनबाट नै सबैले यसको जवाफ पाउने उनले बताए । ‘संसद विघट संविधान अनुसार थियो कि थिएन भन्ने बहस जबरजस्ती निकालिएको छ ।’ उनले भने, ‘काम गर्न नदिएको खण्डमा प्रधानमन्त्रीले संसद विघटन गर्न सक्छ ।’
लोडसेडिङ फेरी फर्किन्छ र ओलीले राजतन्त्र फेरी पनि ल्याउँछन् भन्दै हल्ला फिजाइएकोमा प्रधानमन्त्री ओलीले आपत्ति प्रकट गरेका छन् । ‘आज पनि भन्दै थिए, राजतन्त्र फेरी ओलीले फर्काउँछ भन्दै हिंडिरहेका थिए, उनले भने, जसले आधाभन्दा धेरै उमेर गणतन्त्रका लागि लड्यो, उसले राजतन्त्र फर्काउँछ भन्ने नसोचे पनि हुन्छ ।’ केही व्यक्तिले नकारात्मक हल्ला फिजाइएको भन्दै प्रधानमन्त्री ओलीले हल्लाको पछि नलाग्न सबैलाई आग्रह गरेका छन् । ‘चाटुकारको चटके कुराको पछि नालागेर पार्टीतर्फ उभिनु भएको छ ।’ उनले भने ।