ओलीलाई हटाएर मुलुकमा राजनीतिक अस्थिरता ल्याउन खोजियोः उपप्रधानमन्त्री पोखरेल

पोखरा । उपप्रधानमन्त्री ईश्वर पोखरेलले मुलुकमा फेरी अराजकता ल्याउने प्रयास भइरहेको बताएका छन् । आज काठमाडौंमा आयोजित नेकपा ओली समुहको जनसभालाई सम्बोधन गर्दै उनले विभिन्न थरीका आन्दोलनका नाममा मुलुकमा अशान्ति फैल्याउने तथा राजनीतिक अस्थिरता ल्याउने प्रयास गरिएको आरोप लगाएका हुन् ।

प्रचण्ड–नेपालको समुहले देशमा अराजकता ल्याउन उद्दत भएको उनले आरोप लगाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले जनता ठूलो भन्दै निर्वाचन घोषणा गरेको भए पनि प्रचण्ड–नेपाल पक्षले निर्वाचन हुनु हुँदैन भन्दै धम्की दिएको उनको भनाई थियो । निर्वाचन आयोगमा गएर नै धम्की दिनुले पनि मुलुकमा राजनीतिक अराजकता ल्याउन खोजेको भन्ने कुरा प्रमाणित भएको उनले बताएका छन् ।

५ वर्षका लागि जनताले नै भोट दिएर प्रधानमन्त्री चयन गरिएको भए पनि ओलीलाई हटाएर देशमा राजनीतिक अराजकता ल्याउन खोजिएको अवस्थामा आफूहरु पछाडि नहट्ने उनले प्रतिबद्धता व्यक्त गरेका छन् । मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न आफूहरु जस्तोसुकै प्रतिकुल अवस्थाको सामना गर्न समेत तयार रहेको उपप्रधानमन्त्री पोखरेलले बताएका छन् । ‘संविधान तथा संविधानले दिएका अधिकारहरुको रक्षाका लागि हामीहरु निरन्तर लागिरहने छौं ।’ उनले भने ।

हिजोको नेपाल बन्द गराउने जनविरोधी कुराको उनले विरोध गर्दै उनले नेपाल बन्द गरेर जनतालाई दुख दिने कुराको समेत उनले भत्सर्ना गरेका छन् । काम गरेर आफ्नो जीवन चलाउनेमाथि सांघातिक आक्रमण हुने कुरालाई कहिले पनि सकारात्मक रुपमा लिन नसकिने तथा नेपाल बन्दका क्रममा भएका सबै क्षतिको क्षतिपूर्ति सरकारले दिने उनले प्रतिबद्धता व्यक्त गरेका छन् । आफूहरुको लडाई राष्ट्रको स्वाभिमान रक्षाका लागि भएको बताउँदै यो लडाईलाई कहिले पनि कमजोर हुन नदिने उनले बताए ।

नेकपा ओली पक्षको आधिकारिकतालाई कसैले पनि तोड्न नसक्ने उनले दावी गरेका छन् । आफूहरु नै आधिकारिक नेकपा भएको बताउँदै उपप्रधानमन्त्री पोखरेलले सूर्य चिन्ह पनि आफूहरुले नै पाउने उनको दावी थियो । ५ वर्ष प्रधानमन्त्री बन्ने लोभले गर्दा पुष्पकमल दाहाल प्रचण्ड कांग्रेस तथा जनता समाजवादी पार्टीसंग लम्पसार पर्न गएको पोखरेलले आरोप लगाएका छन् । प्रचण्डले तत्कालीन एमालेसंग पार्टी एकता गरेपनि त्यसरी अन्य पार्टीसंग जानु नै अहिलको अवस्था सिर्जना हुनुमा मुख्य भूमिका रहेको उनले बताए ।

कमेन्टहरु
Loading...