जनकपुरधाम । जनकपुरधाममा बजार बन्द गराउन हिँडेका प्रचण्ड(नेपाल समूहका नेता कार्यकर्ता र प्रहरीबीच झडप भएको छ। आज एक दिने बन्द आह्वान गरेको नेकपा प्रचण्ड-माधव समूहका कार्यकर्ता र प्रहरीबीच जनकपुरमा झडप भएको हो । झडपका क्रममा प्रहरीले केही राउण्ड हवाई फायर र अश्रु ग्यास प्रहार गरेको छ ।
नेकपाका नेता र कार्यकर्ताले स्थानीय शिव चोकमा गुडिरहेको भ्यानलाई रोक्न खोज्दा प्रहरीले बल प्रयोग गरेको हो । प्रहरीले लाठी प्रहारका साथै हवाई फायर र अश्रु ग्यास प्रहार गरेको छ । समूहका कार्यकर्ताहरूले ना १ क ५१२ नम्बरको प्रहरीको भ्यान र ज १ च १५७० नम्बरको मालसमान ढुवानी गर्ने गाडीमा तोडफोड गरेका छन्।
प्रहरीको लाठी प्रहारबाट नेकपाका नेता एवं पूर्व सांसद रामचन्द्र झासहितका केही नेता र कार्यकर्ता घाइते भएका छन् । उनलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम लगिएको छ ।