गन्थन डेस्क
नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड माधव समुहले गरेको बन्दले प्रभावित यात्रु र विद्यार्थीहरुलाई कास्की जिल्लाका केपी पक्ष समुहका विद्यार्थीहरुले पिक एण्ड ड्रपको अभियान चलाएका छन् ।
अनेरास्वबियू कास्की जिल्ला कमिटी , पृथ्वीनारायण,जनप्रिय र पोखरा महानगर कमिटीले आ-आफ्ना कार्यकर्तालाई उक्त अभियानमा बिहानैदेखी खटाएका छन् ।
कास्की जिल्ला सहसंयोजक विजय पौडेलका अनुसार कलेजहरुमा जारी परीक्षमा सहभागि गराउने र घरमा पुर्याउनेका गरि बिहानैदेखी विद्यार्थी परिचालन गरिएको छ ।
‘सार्वजनिक यातायात नचल्दा विद्यार्थीहरु समयमै परिक्षामा सहभागी हुन नपाउने वा परिक्षा दिनबाटै बञ्चित हुने अवस्था आउन नदिन अभियान चलाएका हौं , उनले भने, ‘हिजैबाट सामाजिक सन्जालमा सूचना जारी गरि अभियानमा सहभागी साथिहरुको सम्पर्क नम्बर समेत उपलब्ध गराएका थियौं ।’
अनेरास्वबियू पिएन क्याम्पस संयोजक विष्णु पोखरेलका अनुसार क्याम्पसमा २५ जना विद्यार्थीहरुलाई पिक एण्ड ड्रपका लागि खटाइएको छ।
उनले विद्यार्थी मात्रै नभइ गन्तव्यमा पुग्न असहज भएका यात्रुलाई समेत पोखरा भित्र मोटरसाइकल वा स्कुटरबाट गन्तव्यमा पुर्याउने काम भैरहेको बताए ।
जस अनुसार बिहान ५ बजेदेखी नै विद्यार्थीहरु विभिन्न क्याम्पस र स्थानमा खटिएका थिए ।
जनप्रिय क्याम्पस कमिटीका सचिव रहेका सागर शर्मा बिहानैदेखी आफु र आफ्ना साथिहरु विद्यार्थी र वटुवाहरुको सेवा लागिरहेको बताउँछन् ।
‘जनतालाइ दुख दिएर गरिएको नेपाल बन्द जनताको लागि कदापी हुन सक्दैन । घारिपाटनबाट बहिनिलाइ बागमारासम्म लग्दिने दाइलाइ धन्यवाद, बुवालाइ पोखरासम्म लिफ्ट दिनुहुने दाइलाई र बुवालाई निर्मलपोखरीसम्म लग्दिने दाजुलाई पनि धन्यवाद । र म बिचबाटो मा रोकिदा मलाइ पेट्रोल पम्पसंग लग्दिने र पुन स्कुटर भएको ठाउँ सम्म ल्याईदिने सागर शर्मालाई लाई झन् धेरै धन्यवाद’,अनेरास्वबियू नेतृसमेत रहेकी प्रमिला आचार्यले फेसबुकमा लेखेकी छन् ।
पोखरा इन्जिनिरयरिङ क्यामपसमा पनि विहानदेखी नै विद्यार्थीहरु खटिएका छन् । स्ववियू सभापति समेत रहेका अनेरास्वबियू केन्द्रिय सदस्य किशोर सुवेदीले फोन आएपछि विद्यार्थीको घरसम्म पुग्ने र परिक्षामा सहभागी भइसकेपछि पुर्याउने कार्य गरिएको जानकारी दिए ।
कास्की सहसंयोजक पौडेलका अनुसार पोखरा भित्र करिब ५० जना विद्यार्थी पिक एण्ड ड्रप अभियानका लागि खटिएका छन् ।
बन्दको विरोधमा मोटरसाइकल र्याली
यस्तै केपी पक्ष अनेरास्वबियूका विद्यार्थीहरुले बिहान ११ बजे बन्दको विरोधमा मोटरसाइकल र्याली समेत निकालेका थिए । पृथ्वीनारायण क्याम्पसबाट सुरु भएको र्याली पोखराका विभिन्न भाग परिक्रमा गरि पुनः क्याम्पस गेटमा पुगेर टुङ्गिएको थियो ।