काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल पक्षले भोलि अर्थात् बिहीबार आम हड्ताल (नेपाल बन्द) को घोषणा गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा आज पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त समुहले बाध्य भएर आम हड्ताल (नेपाल बन्द) को घोषणा गर्नुपरेको समेत जनाएको छ । प्रचण्ड–नेपाल समुहकी नेतृ पम्फा भुसालले सरकारले विभिन्न असंवैधानिक काम गरेको तथा परिस्थिति नै बाध्यात्मक सिर्जना गरेपछि आमहड्ताल (नेपाल बन्द) गर्न बाध्य भएको बताएकी छिन् ।
सम्बन्धित निकाय तथा सम्बन्धित व्यक्तिलाई समेत खबर नगरेर प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक निकायका पदाधिकारीहरुलाई बिहान–बिहानै सपथ खुवाएर नाटक गरेको नेतृ भुसालको आरोप रहेको छ । नियुक्त भएकाहरुको संवैधानिक सुनुवाई समेत नभएको अवस्थामा सपथ गराउनु निरंकुशता तथा जबरजस्तीको पराकाष्ठ भएको उनको आरोप रहेको छ । जंगलराजको अन्त्य तथा लोकतन्त्रको रक्षाका लागि भोलि बिहीबार आम हड्ताल (नेपाल बन्द) को घोषणा गरिएको उनले पत्रकार सम्मेलनका जानकारी गराएकी छिन् ।
भोलिको आम हड्ताल (नेपाल बन्द) का क्रममा प्रेस, अस्पताल, एम्बुलेन्स, दूध तथा पानीको गाडी, परीक्षा बाहेक सबै बन्द हुने भएको छ । प्रधानमन्त्री ओली नेतृत्वको सरकारले चालेको प्रतिगमनविरुद्ध आफूहरु जुनसुकै कदम चाल्न बाध्य हुने नेतृ भुसालले बताएकी छिन् । सरकारको कदमविरुद्ध गरिएको आम हड्ताल (नेपाल बन्द) लाई साथ हिन उनले सबैलाई आग्रह गरेकी छिन् ।