काठमाडौं । पूर्व सांसद तथा जनता समाजवादी पार्टीका नेता समेत रहेका शिवजी यादव प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी नेकपामा प्रवेश गरेका छन् । प्रधानमन्त्री ओलीको निर्वाचनबाट जनतामा जाने निर्णयलाई समर्थन गर्दै आफू ओली समुहको नेकपामा प्रवेश गरेको नेता यादवले बताएका छन् । उनलाई प्रधानमन्त्री ओलीले हिजो मंगलबार पार्टीमा स्वागत गरेका थिए ।
हालको अवस्थामा मुलुकलाई अस्थिरतामा धकेल्ने खेलहरु भइरहेको र सोही खेललाई रोक्ने प्रधानमन्त्री ओलीको प्रयासलाई साथ दिन आफू नेकपा ओली समुहमा लागेको यादवले प्रतिक्रिया दिएका छन् । पार्टीले दिने जिम्मेवारीलाई इमान्दारिताका साथ काम गर्ने समेत यादवले प्रतिबद्धता व्यक्त गरेका छन् । महोत्तरी घर भएका यादव पहिले पनि तत्कालीन एमाले थिए । २०६३ सालको मधेष आन्दोलन पश्चात् मधेसी जनअधिकार फोरममा आवद्ध भएका यादव तत्कालीन समाजवादी फोरममा सांसद समेत हुन् ।