गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कम्युनिष्टको शक्ति जनतामा हुने बताएका छन् ।
नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०को गैँडाकोटमा आज आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई नेकपा प्रचण्ड–नेपाल समूहले गिराउन खोजेपछि जनतामाझ जान प्रधानमन्त्रीले संसद् विघटन गर्नुभएको स्पष्ट पारे।
“जनताले हामीलाई पाँच वर्षसम्म स्थिर सरकार बनाउनका लागि म्यान्डेट दिएका थिए”, उनले भने, “विभिन्न षड्यन्त्र गरेर सरकार ढाल्न खोजिएपछि जनताको बीचमा जानुको विकल्प थिएन । त्यसैले प्रधानमन्त्रीले संसद् विघटन गर्नुभएको हो ।” मुख्यमन्त्री गुरुङको कम्युनिष्टको शक्ति जनतामा हुने भन्दै अब जनतामाझ गएर पुनः सरकारको नेतृत्व गरिने बताए। “गोहीको शक्ति पानीमा, चिलको शक्ति आकाशमा अनि बाघको शक्ति जङ्गलमा भएजस्तै हामी कम्युनिष्टको शक्ति पनि जनतामा रहेको हुन्छ”, उनले भने, “हामीले जनताको लागि धेरै काम गरेका छौँ । बाटोघाटो निर्माण, पानी बत्तीको सुविधा, स्वास्थ्य, शिक्षाको व्यवस्था गरेकाले जनताले फेरि हामीलाई अनुमोदन गर्नुहुनेछ ।”
नेकपाको गण्डकी प्रदेश इञ्चार्जसमेत रहेका मुख्यमन्त्री गुरुङले आफूहरुले पार्टीलाई धेरै पटक दुर्घटना हुनबाट जोगाएको बताउँदै प्रदेश र सङ्घको निर्वाचन सकिएलगत्तै प्रचण्डलगायतका नेताले निहुँ खोजिरहेको भए पनि केही समय आफूहरुले पार्टीलाई फुटबाट जोगाएको दाबी गरे ।
“हरेक निर्वाचित जनप्रतिनिधिसँग आफ्नै सपना र दृष्टिकोण हुन्छ”, उनले भने “नगरप्रमुखसँग आफ्नो नगरलाई बनाउने भिजन चाहिन्छ, मुख्यमन्त्रीसँग प्रदेशलाई बनाउने भिजन हुनुपर्छ अनि प्रधानमन्त्रीसँग देशलाई बनाउने असल दृष्टिकोण चाहिन्छ । त्यो दृष्टिकोण हामी र हाम्रो प्रधानमन्त्रीसँग छ ।” मुख्यमन्त्री गुरुङले प्रधानमन्त्रीकै दृष्टिकोणका कारण नेपाल समृद्धिको यात्रामा अगाडि बढेको उल्लेख गर्दै पार्टीमा समस्या उत्पन्न भएको अवस्थामा पनि अहिले नेकपा प्रवेशमा जनताको उत्साह देखिएको बताए।
नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का केन्द्रीय सदस्य एवं पूर्वसांसद तिलक महतले पार्टीभित्र सङ्कट उत्पन्न भए पनि समाधानको निम्ति नयाँ तरिकाबाट अगाडि बढिने बताए । प्रधानमन्त्री केपी ओली नेतृत्वको पार्टीका जिल्ला तहका नेता तथा कार्यकर्ताले हिजोको विरासत झुक्न दिन नहुने भन्दै आगामी निवार्चनमा समेत आफूहरु एक नम्बरको पार्टी बनेर निस्किनुपर्ने बताइ । “हामीसँग विचार र दृष्टिकोण छ, त्यसैले हामी एक नम्बरको पार्टी बन्नेछौँ”, उनले भने ।
राष्ट्रियसभाअन्तर्गत राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमार रावल पार्वती, गण्डकी प्रदेशसभा सदस्य एवं नेकपा जिल्ला अध्यक्ष रोशनबहादुर गाह, भूमि सम्बन्धि समस्या समाधान आयोगका जिल्ला अध्यक्ष कृष्ण घिमिरेलगायतले जनता केन्द्रित राजनीति हुनुपर्नेमा जोड दिए ।
भेलाले गैँडाकोट–५ का वडाध्यक्ष नवराज कँडेलको संयोजकत्वमा नेकपा नगर कमिटीलाई पुनर्गठनसमेत गरेको छ ।