राष्ट्रपतिबाट वाङ्मय शताब्दी पुरुषको तस्बिरांकित हुलाक टिकटमा टाँचा प्रदान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको तस्बिरांकित हुलाक टिकटको प्रथम दिवसीय आवरणमा टाँचा प्रदान गरेकी छिन् । फिलाटेलिक तथा हुलाक टिकट व्यवस्थापन कार्यालयद्वारा आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपतिले जोशीको तस्बिरांकित हुलाक टिकटमा टाँचा प्रदान गरेकी हुन् । जोशीको तस्बिरांकित १० को हुलाक टिकट १० लाख थान छापिएको हुलाक टिकट व्यवस्थापन कार्यालयले जनाएको छ ।

गत आइतबार बसेको मन्त्रिपरिषद् बैठकले शताब्दी पुरुष जोशीको तस्बिरांकित छपाइ भइआएको हुलाक टिकट प्रकाशन गर्न स्वीकृत दिने निर्णय गरेको थियो । गत चैत ९ गतेको मन्त्रिपरिषद् बैठकले सन् २०२० को फिलाटेलिक कार्यक्रम स्वीकृत गर्दै हुलाक टिकट प्रकाशन गर्ने निर्णय गरेको थियो । कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले जोशीद्वारा लिखित ५ पुस्तक र जोशीले सिर्जना गरेका गीतसंग्रह ‘क्रान्तिका लहर’ नामक सिडी राष्ट्रपतिसमक्ष अर्पण गरेका थिए ।

जोशीको जन्म १९७७ वैशाख ३० गते ललितपुरको इखुम्बहालमा भएको थियो । कला, संस्कृति र साहित्यका धनी जोशीले २०७४ वैशाख २१ गते वाङ्मय शताब्दी पुरुषको उपमा पाएका थिए । उनले मदन पुरस्कार, सुप्रबल गोर्खा दक्षिणबाहु, त्रिशक्तिपट्ट, आदिकवि भानुभक्त पुरस्कार, उज्ज्वल कीर्तिमान राष्ट्रदीपलगायत पदक र पुरस्कार प्राप्त गरेका छन् ।

जोशीलाई काठमाडौं विश्वविद्यालयले मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरेको छ । उनको सम्मानमा नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग टक्सार महाशाखाबाट उनको तस्बिरांकित चाँदीको सिक्का निष्काशन गरिएको छ । २ हजार ५ सयका २५ हजार थान, १ हजारका २५ हजार थान र १ सयको १० हजार थान दरको सिक्का निष्काशन गरिएका छन् ।

सो अवसरमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले हुलाक टिकट प्रकाशनको इतिहासमा आफ्नो जीवनकालमै हुलाक टिकट प्रकाशन हुने सामाजिक व्यक्तित्वका रुपमा पहिलो व्यक्ति जोशी रहेको बताए । ‘वाङ्मय शताब्दी पुरुष जोशीको आजदेखि जीवनको नयाँ इतिहास शुरु भएको छ, यो इतिहासको दस्तावेजका रुपमा रहेको छ ।’ नेपाल सरकारका प्रवक्ता गुरुङले भने, ‘एक जुगमा एक दिन एक पटक आउँछ भने जस्तै शताब्दी पुरुषको जीवनकालमा एक दिन आएको छ, त्यही एक हो जुन दिन राज्यले सम्मान प्रकट गरेको छ ।’

कला, संस्कृति र साहित्यको ज्ञाता जोशीलाई राज्यले बुझेको जनाउँदै मन्त्री गुरुङले उनी यस शताब्दीका हरेक दिनको साक्षीका रुपमा रहेको बताएका छन् । कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ, काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलगायतको उपस्थिति थियो । रासस

कमेन्टहरु
Loading...