काठमाडौं । खानेपानीमन्त्री मणि थापाले जेलमा रहेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता हेमन्तप्रकाश ओलीसंग भेटेका छन् । विप्लव नेतृत्वको विद्रोही नेकपाका नेता ओली हाल नख्खु कारागारमा रहेका छन् ।
सरकार तथा विप्लव नेतृत्वको विहोद्री नेकपाबीच हाल अनौपचारिक रुपमा संवाद चलिरहेको अवस्थामा खानेपानीमन्त्री थापाले उक्त समुहका नेता ओलीसंग भेटेका हुन् । ओलीलाई भेट्न मन्त्री आथा नख्खु कारागारमा नै पुगेका थिए ।
कारगारमा रहेका ओली तथा मन्त्रीबीच भेटका क्रममा हिंसात्मक गतिविधिहरु छोडेर शान्तिपूर्ण रुपमा आउने हो भने सहजीकरण गर्न सरकार तयार रहेको विषयमा कुराकानी भएको बताइएको छ । मन्त्री थापा तथा ओली जनयुद्धकालीन अवस्थादेखिका साथी हुन् ।
असन्तुष्ट केही समुहसंग वार्ता गरेर मुलधारमा ल्याउने प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिन अगाडि बताए लगत्तै पूर्वमाओवादी पुष्ठभूमिका मन्त्रीहरु विप्लव समुहका नेताहरुसंग सम्पर्कमा जुटेका छन् ।
केही समय अगाडिमात्र पक्राउ परेका विप्लवका अर्का नेता धर्मेन्द्र बास्तोलासंग समेत सरकारको तर्फबाट वार्ता तथा संवाद चलिरहेको बताइएको छ । वार्ताका विषयमा विप्लव समेत केही लचक देखिएको स्रोतको दावी छ ।
आफूमाथि लगाइएको प्रतिबन्ध हटोस् भन्ने उनको चाहना रहेको स्रोतले बताएको छ ।