पोखरामा नागरिक आन्दोलनः अब पनि नबोले मुलुकका लागि आत्मघात हुन्छ (तस्बिर सहित)

सुमन थापामगर

पोखरा । प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि त्यसको विरोधमा नागरिक समाजले पोखरामा पनि विरोध सभाको आयोजना गरेको छ । नागरिकको समुहले मानवअधिकारचोकबाट ¥यालीको आयोजना गर्दै पोखराको महेन्द्रपुलमा रहेको भीमसेन चोकमा गएर सभाको आयोजना गरेको थियो ।

विरोध सभामा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले मुलुक संविधान तथा कानुनमा चल्नुपर्नेमा त्यस्तो हुन नसकेको बताएका छन् । अहिलको पुस्ताले कुनै आन्दोलन गर्नुपर्दैन भन्ने सोचका साथ अगाडि बढिरहेको अवस्थामा प्रतिनिधिसभा विघटन गरेर फेरी मुलुकलाई पछाडि धकेलिएको उनको आरोप रहेको थियो । एउटा व्यक्ति तथा कुनै पार्टीको घरझगडाले मुलुकलाई नै प्रतिगामीतर्फ धकेलिएको बताएका छन् । नेपाली राजनीतकि दलका नेताहरुले आम जनतालाई शीर झुकाएर हिंड्नुपर्ने अवस्थामा पु¥याएको उनको आरोप छ ।

त्यस्तै साहित्यकार गणेश पौडेलले अहिलेका राजनीतिक दललाई संविधानको रक्षाभन्दा आफ्नो शक्ति पद तथा सूर्य चिन्ह कसको भागमा पर्ला भन्ने चिन्ताले ग्रसित भएको आरोप लगाएका छन् । ‘यसपछिको चुनाव आउला र प्रधानमन्त्रीको कुर्सी मेरो भागमा पर्ला भन्ने चिन्ताले ग्रसित छ, तँ पिटे जस्तो गर्, म रोएजस्तो गर्छु भने जस्तो गर्छ, प्रतिपक्ष भन्ने पार्टी त्यस्तो छ ।’ उनले भने, ‘अर्को एउटा छ, सूर्य चिन्ह कसको भागमा पर्ला भन्ने चिन्ताले ग्रसित छ । यसमा संविधानको चिन्ता, देशको चिन्ता लिने दलको खास उपस्थिति मैले देखेको छैन । यो सबैभन्दा घातक तथा चिन्ताजनक विषय हो ।’ वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो घरझगडा मिलाउन नसकेर सिंगो मुलुकलाई आगो लगाएको पौडेलले आरोप लगाएका छन् । अब पनि नेपाली जनता प्रतिनिधिसभा विघटनका विरुद्धमा नबोले मुलुकका लागि त्योभन्दा ठूलो आत्मघात हुन नसक्ने उनले विरोध कार्यक्रममा बताएका छन् ।

कार्यक्रममा बोल्दै निर्मला न्यौपानले व्यवस्थाभन्दा अगाडि कुनै राजनीतिक दल हुन नसक्ने बताएकी छिन् । राजनीतिक दलले आ–आफ्नो स्थानबाट आन्दोलन गरिरहेको अवस्थामा आफूहरुले समेत नागरिक आन्दोलन गरेको बताइन् । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गर्ने कार्यलाई कुनै पनि कोणबाट सही भन्न नसकिने बताएकी छिन् । लोकतन्त्र, मुलुकको राज्य व्यवस्था, संविधान तथा कानुनको रक्षाका लागि नागरिक आन्दोलनलाई बृहत रुपमा लैजानुपर्ने उनको भनाई थियो ।

कार्यक्रममा प्रतिनिधिसभा विघटनविरुद्ध विभिन्न सांगीतिक प्रस्तुती तथा कविता समेत प्रस्तुत गरिएको थियो ।

तस्बिरः रिना थापा

कमेन्टहरु
Loading...