काठमाडौं । कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप लगाउँदा सामान्य असर देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले खोप लगाएपछि व्यक्तिमा खोपले सामान्य असर देखिएको जानकारी दिएका छन् । उनका अनुसार ती व्यक्तिमा देखिएको असर केही समयपश्चात् आफैं हराएर जाने गरेको जान्छ ।
खोप लगाएको ठाउँ रातो हुने, सुन्निेने, चिलाउने, टाउको दुख्ने, जस्ता सामान्य असर देखिएको छ । ‘आजसम्म खोप लगाएका व्यक्तिमा सामान्य असर देखिएको छन् । ती सबै व्यक्तिमा देखिएका असर केही समयपश्चात् आफैं निको भएको छ ।’ उनले भने, ‘खोपले काम गर्न थालेपछि त्यस्ता सामान्य असर देखिने गर्दछ । त्यस्तो असर कसैलाई दुई–तीन घण्टामा निको त कसैलाई १/२ दिनमा निको हुन्छन् ।’
उनले कसैलाई हालसम्म जटिल स्वास्थ्य समस्या भने नआएको बताए । मन्त्रालयले खोप लगाउँदा हरेक अस्पतालका सम्भाव्य घटनाको व्यवस्थापनका लागि आवश्यक टिम तथा औषधिको व्यवस्थापनसमेत गरेको छ ।
मन्त्रालयका सहप्रवक्ता डा.अधिकारीले खोपपश्चात् अवाञ्छिन घटनाको अनुगमन तथा व्यवस्थापन गर्नका लागि देशभरि नै विज्ञ टोली परिचालन गरिएको बताए । मन्त्रालयले सबैलाई ढुक्क भएर खोप लगाउन अनुरोधसमेत गरेको छ । यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा सागरराज भण्डारीले १० जनामध्ये १ जनामा सामान्य समस्या दिएको बताएका छन् । उनले खोप लगाएको ठाउँ दुख्ने, सुन्निने, शरीर थाकेको जस्तो हुने, वाकवाकी लाग्ने, टाउको दुख्ने, जाडो लाग्ने जस्तो समस्या देखिएको बताएका छन् ।
मन्त्रालयका अनुसार अहिलेसम्म देशभरी १ सय ६९ खोप केन्द्रबाट ४६ हजार १ सय ९७ जनाले लगाएका छन् । भारत सरकारको सहयोगमा ल्याइएको उक्त १० लाख मात्रा खोप देशभरी नै दिइन थालिएको छ । रासस