पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले जे काम गर्दा पनि अलोचना गर्ने तथा राष्ट्रवादलाई नाटक भन्ने गरिएको बताएका छन् । आदिवासी जनजाति महासंघले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूलाई जनजाति विरोधी देखाइएको आरोप लगाएका छन् । ‘म जनता गएँ भने मधेष मधेष भन्दै भड्काएर हिंड्दिन, सिंगो नेपालको कुरा गर्छु । हिमाल, पहाड, तराई, मधेष पूर्वदेखि पश्चिमसम्म सबै एक हौं ।’ उनले भने । एउटा जात तथा एउटा व्यक्तिका लागि नभएर सबै नेपालीका लागि समृद्ध नेपाल र सुखी नेपाली भनिएको उनको दावी छ । ‘यसका लागि हामी लोकतन्त्र सुदृढीकरणका लागि लाग्नुपर्छ ।’ प्रधानमन्त्री ओलीले भने ।
आफू पशुपति जाँदा धेरैको टाउको दुखेको ओलीले बताए । नेपालीकै सभ्यतासंग जोडिएको मन्दिरमा जाँदा केहीको टाउको दुखेको उनको भनाई थियो । ‘म अस्ती मन्दिर गएँ, केही व्यक्तिको टनटन्ती टाउको दुख्यो रे ।’ उनले भने । आफूहले हरेक व्यक्तिको आस्थाप्रति सम्मान गर्ने तथा राज्य पनि सद्भाव राख्ने प्रधानमन्त्री ओलीले बताएका छन् । ‘नेपाल कुनै धर्म विषेशको राज्य होइन, यो १ सय २७ जातजातिको राज्य तथा उनीहरुको भाषाभाषीको हो ।’ उनले भने, ‘यो विविधता हाम्रो गौरव हो, सांस्कृतिक सम्पन्नता हो, संस्कृति हो ।’
विविधता नेपालीको भौगोलिक पहिचान भएको प्रधानमन्त्री ओलीले बताए । उनले आफूले गरेका कामलाई समेत ट्रोल बनाइएको बताएका छन् । ‘मलाई थाहा छ, भरे बेलुका टिकटकमा मेरो फोटो डफलीवाले भनेर आउँछ ।’ आ–आफ्नो परम्परा नै नेपालीहरुको सम्पति भएको उनको भनाई छ । हाल नेपाल सरकारका मन्त्रीहरुमध्ये आदिवासी जनजाति, मधेषी लगायत सबै परेको उनले बताए ।
‘हिसाब गरेर होइन, भावनाले एकताबद्ध भएका हौं ।’ उनले भने । पहिचानका नाममा राजनीति गर्न थालेमा देशमा नै विनास हुने प्रधानमन्त्री ओलीले बताएका छन् । जातैपच्छिेका राज्य आयो भन्दै उक्साईको ओलीले बताए ।
केही व्यक्तिलाई देश विकास भएकोमा खुसी नभएको उनले बताए । विकासका काम दुखी हुनुभन्दा पनि केपी ओलीलाई यस्तै विकासको काम भएमा हराउन सकिंदैन, जनतालाई उसलाई नै साथ दिन्छ भनेर दुखी भएको उनको भनाई छ ।