नेपालमा कोरोना भाइरसविरुद्ध खोप अभियान सुरु, प्रधानमन्त्री ओलीद्वारा उद्घाटन

पोखरा । नेपालमा कोरोना भाइरसविरुद्धको खोप अभियान आजबाट सुरु भएको छ ।

देशभरी सुरु भएको खोप अभियानमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइकर्मी लगायतलाई पहिलो प्राथमिकतामा राखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान १० बजे खोप अभियानको भर्चुअलको माध्यमबाट उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा बोल्दै ओलीले कोभिडविरुद्धको नयाँ लडाई सुरु भएको बताएका छन् । आफ्नो ज्यान जोखिममा राखेर भए पनि कोरोनाविरुद्धको महामारीविरुद्ध लडेका अग्रपंक्तिका योद्धाहरुको प्रधानमन्त्री ओलीले प्रशंसा गरेका छन् ।

प्रधानमन्त्री ओलीले कार्यक्रममा बोल्दै नेपालीहरुको नमस्कार गर्ने संस्कृतिलाई फेरी ल्याइदिएको बताए । ‘कोभिड १९ लाई एक वर्षमा ह्याण्ड चेकलाई बाइबाइ ग¥यो, नमस्तेलाई फेरी ल्याइदियो ।’ प्रधानमन्त्री ओलीले भने ।

जीवन र प्रकृतिको सम्बन्ध लगायतका कुरालाई फेरी वैज्ञानिक तरिकाले पुनःभाषित गरेको उनले बताए । आयुर्वेद, प्राकृतिक चिकित्सा प्रकृति लगायततर्फ समाजलाई कोरोना भाइरसले फर्काउने काम गरेको उनको भनाई थियो । पहिलो कुरा जनताको जीवन जोगाउनुपर्छ भन्ने हेतुले जीवन पहिलो भन्ने कुरा अगाडि सारिएको प्रधानमन्त्री ओलीले बताएका छन् । अर्थतन्त्र ध्वस्त भएपनि त्यसलाई उठाउन सकिने तर मान्छेको जीवन गएमा फेरी फर्काउन नसकिने भन्दै उनले जीवन पहिलो भन्ने कुरा अगाडि सारिएको उनको दावी थियो ।

यो खोप अभियानको छिट्टनै सुरुआत गर्ने मौका पाएकोमा उनले छिमेकी राष्ट्र भारतलाई धन्यवाद दिएका छन् । १० लाख डोज अनुदानमा उपलब्ध गराएको भन्दै उनले धन्यवाद व्यक्त गरेका हुन् । कोभ्यास खोप ल्याउने विषयमा समेत कुराकानी भइरहेको उनको दावी छ । भारतसंग मुल्य तिरेर पनि खोल ल्याउने विषयमा छलफल भइरहेको प्रधानमन्त्री ओलीले कार्यक्रममा जानकारी दिएका छन् ।

कोरोना भाइरसबाट नेपालमा विश्वका अन्य राष्ट्रमाभन्दा धेरै कम क्षति भएको उनले बताए । खोप लगाएको भएपनि खानपिनमा ध्यान दिन, मास्कको नियमित प्रयोग गर्न, सरसफाईमा ध्यान दिन, नियमित हात धुन तथा स्यानीटाइजरको प्रयोग गर्न, सामाजिक दुरी कायम गर्न समेत प्रधानमन्त्री ओलीले आग्रह गरेका छन् ।

कमेन्टहरु
Loading...