प्रचण्ड–नेपाल समुहद्वारा तेस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा, माघ २८ गते पुनः शक्ति प्रदर्शन गर्ने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल पक्षले तेस्रो चरणको आन्दोलनको घोषणा गरेको छ ।

आज उक्त पक्षको संघर्ष समितिले पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतिनिधिसभा विघटन विरुद्ध तेस्रो चरणको आन्दोलन घोषणा गरेको हो । तेस्रो चरणको आन्दोलनका कार्यक्रम माघ १३ देखि २८ गतेसम्म सञ्चालन हुने छ ।

प्रचण्ड–नेपाल पक्षले सार्वजनिक गरेको कार्यक्रम अनुसार माघ १३ गते सिटी जुलुस, १४ गतेबाट २१ गतेसम्म माइतीघर मण्डलामा धर्ना तथा १६ गते सहीदहरुप्रति श्रद्धाञ्जली अर्पण गरिने बताइएको छ । यस्तै प्रचण्ड–नेपाल समुहले माघ २२ गते काठमाडौंमा युवाहरुको सहभागितामा ¥याली, २६ गते मसाल जुलुस तथा २८ गते बृहत विरोध प्रदर्शनको कार्यक्रम आयोजना गर्ने आज जानकारी दिएको छ ।

हाल नेपाल कम्युनिस्ट पार्टी नेकपा ओली तथा प्रचण्ड–नेपाल पक्ष गरेर २ समुहमा विभाजित बनेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा २ गुटमा विभाजन भएको हो । हाल नेकपाको दुवै समुहले एकअर्काको समुहका नेता तथा कार्यकर्तालाई कारवाही गरेको तथा निस्काषन गरेको घोषणा गरिरहेका छन् ।

यसैबीच निर्वाचन आयोगले दवै समुहलाई अलग पार्टीको मान्यता दिन नसकिने निर्णय गरेको छ । तर दुवै समुहले आयोजना गर्ने हरेक कार्यक्रममा आफ्नो नेतृत्वको पार्टी नै आधिकारिक तथा मुल भएको बताउँदै सूर्य चिन्हमा समेत दावी गरिरहेका छन् ।

कमेन्टहरु
Loading...