माघ २३ गते हुने नेकपा ओली समुहको शक्ति प्रदर्शनको तयारी सुरु

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपा ओली पक्षले माघ २३ गते जनसभा आयोजना गर्ने भएको छ । काठमाडौंमा आयोजना हुने जनसभाका लागि कृष्णगोपाल श्रेष्ठको संयोजकत्वमा १ हजार १ सय ११ सदस्यीय समिति समेत बनाइएको स्रोतले जानकारी दिएको छ ।

प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले यस अगाडि माघ ९ गते शुक्रबार नेकपा प्रचण्ड–नेपाल पक्षले काठमाडौं उपत्यकामा आयोजना गरेको शक्ति प्रदर्शन गरेको दिनमा भएको एक कार्यक्रममा माघ २३ गते खासमा शक्ति प्रदर्शन भनेको के हो, देखाइदिने बताएका थिए । प्रधानमन्त्री ओलीको समुहले आफूहरुको शक्ति प्रदर्शनका क्रममा लाखौंको सहभागिता रहने दावी गरेको छ ।

शक्ति प्रदर्शनको तयारीका लागि बागमती प्रदेशका १३ वटा जिल्ला सहित उपत्यका विषेश प्रदेशकन ४ जिल्ला समेत गरेर १७ वटा कमिटीलाई निर्देशन दिइएको ओली समुहका प्रदेश कमिटी अध्यक्ष आनन्द पोखरेलले जानकारी दिएका छन् । जनसभाका लागि २५ सदस्यीय सचिवालय पनि गठन भएको छ, जसको अध्यक्ष समेत पोखरेल रहेका छन् । यता पार्टी नेता ईश्वर पोखरेलले आफूहरुले पार्टी विभाजन भएको छैन भनिरहेको अवस्थामा निर्वाचन आयोगको निर्णयलाई सकारात्मक रुपमा लिएको बताएका छन् ।

कमेन्टहरु
Loading...