पोखरा । नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले संविधान बनाउने व्यक्तिले नै प्रतिनिधिसभा विघटन गरेर संविधानमाथि कुठाराघात गरेको आरोप लगाएका छन् । प्रदेश २ का आफ्ना नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओली जस्तो जालसांझी व्यक्ति आफूले कहिले नदेखेको उनको दावी थियो । प्रधानमन्त्री ओलीको असंवैधानिक कदमविरुद्ध सम्पूर्ण युवाहरु एकजुट हुनुको विकल्प नभएको उनको स्पष्टोक्ति थियो । प्रधानमन्त्री ओलीको कदमलाई कुनै पनि राजनीतिक दलले स्वीकार नगरेको भन्दै अध्यक्ष नेपालले उनको कदम असंवैधानिक थियो भनेर भनिरहनुनपर्ने उनले बताएका छन् ।
बाहिर आएको पदको हानाथापबाट पार्टी फुट्यो भन्नु गलत भएको अध्यक्ष नेपालले दावी गरेका छन् । सबैलाईं उपयुक्त जिम्मेवारी दिएर मुल्यांकन गरौं भन्दा ओली नमानेको नेपालले आरोप लगाएका छन् । ‘उहाँ एकलौटी चल्न खोज्ने गतिछाडा व्यक्ति हो, कसैले भनेको सुन्नुहुन्न, गुटमा रमाउने मान्छे हो ।’ अध्यक्ष नेपालले भने । हालको लडाई सही विचारको निम्तिको लडाई भएको उनले दावी गरे । ओलीको पार्टी नभएर सडकछापको पार्टी भएको उनले दावी गरे । ‘केपी ओलीको पार्टी सडकछाप पार्टी हो, कोही पनि नजानुहोला ।’ उनले भने ।
आफूहरुको पार्टी मात्र समाजवादी तथा न्यायका लागि पार्टी भएको उनको दावी छ । आफूहरुको नेकपा पार्टी सामाजिक न्यायको प्रत्याभूति दिने पार्टी भएको उनले बताए । विपन्न, अपांगता, महिला लगायतका समस्या हल गर्ने उद्देश्यले नै अहिले आफूहरुले पार्टी ल्याएको उनको दावी थियो । प्रधानमन्त्री ओलीले बजेट विनियोजन, जनताका समस्या तथा गुनासो लगायतका विषयमा छलफल गरौंभन्दा नसकेको उनको आरोप छ । ‘केपी ओली आफ्नो प्रशंसामात्र सुन्न रुचाउने व्यक्ति हुन् ।’ उनले भने ।
सबै क्षेत्रबाट केपी ओली एक्लिएको उनले बताएका छन् । प्रतिनिधिसभा भंग गर्ने कुनै आधार नभएको भन्दै अध्यक्ष नेपालले सर्वोच्चले सही निर्णय गर्नेमा आफू विस्वस्त रहेको उनले बताए । ओली तानाशाही हिसाबले संकटकाल लगाएर भए पनि पदमा बसिरहने र उनले घोषणा गरेको निर्वाचन कुनै पनि हालतमा नहुने उनले दावी गरेका छन् । प्रचण्डलाई ओलीले पटक–पटक धोका दिएको उनको आरोप थियो ।