काठमाडौं । जनयुद्धकालीन लडाकुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रका योद्धाका रुपमा सम्मान गर्ने भएका छन् ।
नेकपा ओली पक्ष तथा प्रचण्ड–नेपाल पक्षको तानातानमा रहेका जनयुद्धका लडाकुलाई प्रधानमन्त्री ओलीले आफ्नो समुहमा तान्ने प्रयास स्वरुप लोकतन्त्रका योद्धाका रुपमा सम्मान गर्ने भएका हुन् । स्रोतका अनुसार उनीहरुलाई प्रधानमन्त्री ओलीले मन्त्रिपरिषदबाट लोकतन्त्रका योद्धाका रुपमा सम्मान गर्ने निर्णय गरेका हुन् ।
आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसेको थियो । सो बैठकमा प्रधानमन्त्री ओलीले जनयुद्ध तथा जनआन्दोलनमा सहभागिता जनाउँदा प्रभावित बनेका सबैलाई परिचयपत्र तथा सम्मान प्रदान गर्ने निर्णय गरेका हुन् । यसका लागि उनले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको संयोजकत्वमा ३ सदस्यीय प्रतिवेदन लेखन समिित समेत गठन गरेका छन् । समितिको सदस्यहरुमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शिवमाया तुम्बाहाम्फे सहित खोनपानी तथा सरसफाई मन्त्री मणि थापा रहेका छन् ।
उक्त समतिले सशस्त्र संघर्ष, जनआन्दोलन तथा विभिन्न क्रान्तिका क्रममा सहीद भएका, बेपत्ता पारिएकाका परिवार, घाइते, द्वन्द्व पीडित, अपांगता तथा विस्थापित भएका, लोकतन्त्रका योद्धा लगायतहरुको विवरण संकलन गर्ने छ ।
समितिले सम्पूर्ण अभिलेख संकलन गरेपश्चात् मापदण्डसहित प्रतिवेदन तयार पार्ने र सम्मान तथा परिचयपत्र वितरण गर्ने स्रोतले जानकारी दिएको छ । सरकारले यस अगाडि जनयुद्धमा घाइते भएकाहरुको उपचार निशुल्क रुपमा गर्ने तयारी गरिसकेको छ ।