नेतृत्व विकाससंगै महिला आयआर्जनसंग जोडिनु पर्छ – उपसभामुख शर्मा

पोखरा । गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले महिलाहरु संवैधानिक अधिकारको उपयोग गर्दै आयआर्जनतर्पm जोडिनु पर्ने बताएकी छिन् । कास्कीको माछापुच्छ्रे गाउँपालिकास्तरीय जनप्रतिनिधि महिला तथा सञ्जालका पदाधिकारीका बीच भएको अन्तरकृया कार्यक्रममा बोल्दै उनले महिलाले नेतृत्व विकास गर्दै उत्पादनसंग जोडिनु पर्ने आवश्यकता औंल्याइन् । महिलाको सहभागिता बिना ‘समृद्ध नेपाल सुखी नेपाली’ अभियान पुरा नहुने बताउँदै उनले त्यसका लागि महिलाको सहभागिता अपरिहार्य रहने विश्वास व्यक्त गर्नुभयो ।

संविधानले हरेक तहमा महिलाको ३३ प्रतिशत सुनिश्चितताले महिला नेतृत्वमा उल्लेखनीय विकास भएको जानकारी गराउँदै आगामी स्थानीय तहको निर्वाचनमा महिलाहरु नेतृत्व लिन तयार भएको उनको भनाई छ । गण्डकी प्रदेश सभाका सदस्य डा. पुष्पा केसी भण्डारीले तालिमबाट प्राप्त ज्ञानले धारणा बनाउँदै २ हातले सिप प्रस्तुत गर्न सके मात्र महिला सशक्तिकरणमा जोड पुग्ने विश्वास व्यक्त गरिन् । समाजका विपन्न तथा असहायको पहिचानमा स्थानीय तहका जनप्रतिनिधिको महत्वपूर्ण भूमिका रहने बताउँदै उनले त्यस्ता वर्गको उत्थानका लागि आर्थिक उपार्जनमा जोड पुग्ने खालका कार्यक्रम सञ्चालन गरिनुपर्ने आवश्यकता औंल्याएकी छिन् ।

गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले महिला हक अधिकारको सुनिश्चितताका लागि जनप्रतिनिधि महिला र सञ्जाल बीचको समन्वय आवश्यक रहने बताएका छन् । उपाध्यक्षसंग महिला बालबालिका कार्यक्रमका संयोजक तथा गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी दवाडी र मुस्ताङ जिल्ला घरपझोङ गाउँपालिकाका उपाध्यक्ष सर्मिला गुरुङले राज्यले व्यवस्था गरेको महिला तथा बालबालिका लच्छित बजेट कार्यान्वयमा जनप्रतिनिधि एवं सञ्जालका पदाधिकारी सचेत हुनुपर्ने आवश्यकता औंल्याइन् ।

कार्यपालिका सदस्य हिरादेवी सुनार, महिला तथा बालबालिका कार्यक्रम संयोजक गिता थापा, विभिन्न वडाका वडाअध्यक्षले कार्यक्रमको महत्व र आवश्यकता माथि प्रकाश पारेको कार्यक्रममा गाउँपालिका महिला जनप्रतिनिधि, सञ्चालनका पदाधिकारी, सम्बन्धित शाखाका कर्मचारी सहित ५० जनाको सहभागिता रहेको थियो ।

कमेन्टहरु
Loading...