पोखरा । गुरुङ फिल्म अब नियमितरुपमा चलचित्र हलमा प्रदर्शन गरिने भएको छ । आइतबार चलचित्र पत्रकार संघ कास्कीले पोखरामा आयोजना गरेको पत्रकार सम्मलेनमा गुरुङ फिल्म एसोसियसन नेपालका अध्यक्ष भोजबहादुर गुरुङले गुरुङ फिल्म माघ २३ गतेबाट नियमित रुपमा सिनेमा हलमा प्रदर्शन गरिने जानकारी गराएका हुन् । गुरुङ चलचित्र निर्माण भएको २५ वर्ष पुग्दाको खुसियालीमा आफूहरु अब गुरुङ समुदायमा मात्रै सीमित नरही सिनेमा हलमार्फत् आम समुदायमा फैलिने सोचका साथ अगाडि बढेको उनले बताए ।
‘२५ वर्षको लामो यात्रा तय गर्दा पनि गुरुङ चलचित्रको विकास र विस्तार हुन सकेको छैन । हामीलाई लाग्यो गुरुङ चलचित्र अब समुदायमा मात्रै सिमित रहनुहुँदैन । त्यसैले माघ २३ गतेदेखि नियमित रुपमा शुक्रबार र शनिबार पोखराको मिडटाउन ग्यालरीयामा चलचित्र प्रदर्शन गरिनेछ ।’ गुरुङले भने । उनले सीमित अवधिका लागि मात्र नभई निरन्तर प्रदर्शन गर्ने गरी मिडटाउनसँग सम्झौता भएको जानकारी गराएका छन् । गुरुङले पछि देशका सबै हलहरुमा गुरुङ फिल्म प्रदर्शन गर्ने योजनामा जिफान रहेको समेत उल्लेख गरेका छन् ।
उनले नियमित चलचित्र प्रदर्शनले चलचित्र निर्माताले चलचित्रको टिकट बिक्री वितरण गर्दै दर्शकहरुको घर दैलोमा हिँड्नुपर्ने बाध्यता, दर्शकलाई महंगो टिकटमा चलचित्र हेर्नुपर्ने, टिकटमा लागु गरिने भिआइपी र भिभिआइपी प्रणालीका कारण चलचित्रकर्मी र दर्शकबीचको दुरी बढ्दै जानु, चलचित्रहरु व्यवस्थितरुपमा प्रदर्शन नहुनु र चलचित्र प्रदर्शन गर्दा आ–आफ्नो समुदायमा सिमित रहनुपर्ने समस्याको समाधान हुनेमा विश्वास लिएका छन् ।
यसैबिच जिफानले ‘घर दैलोमा टिकट किनेर होइन, चलचित्रहलमा गएर सहयोग गरौं ।’ भन्ने अवधारणालाई अघि सारेको छ । जिफानका महासचिव लप्सन गुरुङले माघ २३ गतेबाट २०७८ असारसम्म नियमित रुपमा प्रदर्शन हुने गुरुङ चलचित्रको तालिका सार्वजनिक गरेका छन् । उनका अनुसार माघ २३ र २४ गते तमु फिल्मस् प्रालिको ब्यानरमा जसु गुरुङ निर्देशित चलचित्र ‘कर्म क्याँ’ प्रदर्शन हुनेछ । माघ ३० र फागुन १ गते पाईला फिल्मस् प्रालिको ब्यानरमा माओत्सेतुङ गुरुङद्वारा निर्देशित ‘म्हि न्होर्बै ट’ प्रदर्शन हुने भएको छ । फागुन ७ र ८ गते बेब्स क्रियेशन प्रालि ब्यानरमा निर्मित प्रितम गुरुङ निर्देशित ‘रिजे नाशा’ प्रदर्शन गरिने लप्सनले बताए ।
उनले फागुन १४ र १५ गते शुभेच्छा फिल्म प्रालि ब्यानरमा बनेको खुशबहादुर गुरुङद्वारा निर्देशित ‘सम्बन्धको डोरी’ प्रदर्शन गरिने जानकारी गराए । उनका अनुसार फागनु २१ र २२ गते तमु फिल्मस् प्रालिको ब्यानरमा निर्मित गोरा गुरुङद्वारा निर्देशित ‘सिमि नाशा’ प्रदर्शन गरिनेछ ।
चलचित्र ‘यु.के.सुइटर’ फागनु २८ र २९ गते सार्वजनिक हुने भएको छ । जसलाई लेकाली फिल्म प्रालिको ब्यानरमा गुञ्ज बहादुर गुरुङले निर्देशन गरेका हुन् । चैतको ६ र ७ गते शुभेच्छा फिल्म प्रालिको ब्यानरमा खुश बहादुर गुरुङ निर्देशित चलचित्र ‘प्रें सोना’ प्रदर्शन हुने भएको छ । चलचित्र ‘स्यु रु’ चैत १३ र १४ गते प्रदर्शन हुनेछ । स्वस्तिक फिल्म प्रालिको ब्यानरमा निर्माण भएको चलचित्रका निर्देशक सोम गुरुङ हुन् । पाइला फिल्मस् प्रालिको ब्यानरमा माओत्सेतुङ गुरुङद्वारा निर्देशित चलचित्र ‘तमुस्यो’ चैत २० र २१ गते प्रदर्शन गरिनेछ ।
नृत्य निर्देशक सँगै कोरियोग्राफर समेत रहेका लप्सन गुरुङले चलचित्र ‘सबन मु’ चैत २७ र २८ गते प्रदर्शन गरिने जानकारी गराए । उक्त चलचित्र भकारी इभेन्ट्स प्रालिको ब्यानरमा निर्माण भएको हो । जसका निर्देशक कृष्णकुमार गुरुङ रहेका छन् । २०७८ साल बैशाख ३ र ४ गते माओत्से गुरुङद्वारा निर्देशित ब्रेजमेश्रों फिल्मस् प्रालिबाट निर्मित ‘शिरसुबा’ प्रदर्शन गरिने भएको छ । यस्तै, चलचित्र ‘म्ले क्यु’ बैशाख १० र ११ गते प्रदर्शन हुनेछ । स्टारर्स स्टुडियोले निर्माण गरेको चलचित्रमा जसु गुरुङ निर्देशकको रुपमा रहेकी छिन् ।
लेकाली फिल्म प्रालिको ब्यानरमा गुञ्ज बहादुर गुरुङले निर्देशन गरेको चलचित्र ‘समीङ्ही’ बैशाखको १७ र १८ गते प्रदर्शनमा आउने भएको छ । पाईला फिल्मस् प्रालिको प्रस्तुती माओत्सेतुङ गुरुङद्वारा निर्देशित चलचित्र ‘टुकी’ बैशाख २४ र २५ गते प्रदर्शन हुने जनाइएको छ ।
चलचित्र ‘साली भेना’ शुभेच्छा फिल्मस् प्रालिको ब्यानरमा निर्माण भएको चलचित्र हो । राजु गुरुङले निर्देशन गरेको उक्त चलचित्र बैखाख ३१ र जेठ १ गते प्रदर्शनमा आउनेछ । माओत्से फिल्मस् प्रालि ब्यानरमा माओत्से गुरुङले निर्देशन गरेको चलचित्र ‘मनको बाबरी’ जेठ ७ र ८ गते प्रदर्शन गरिने भएको छ । जिफानले दिएको समय तालिका अनुसार चलचित्र ‘फुङ’ जेठ १४ र १५ गते प्रदर्शन गरिनेछ । जसलाई बेब्स क्रियसन प्रालिको ब्यानरमा प्रितम गुरुङले निर्देशन गरेका हुन् । चलचित्र ‘ङोल्स्यो माया’ जेठ २१ र २२ गते प्रदर्शनमा आउने भएको छ । शुभेच्छा फिल्म प्रालिको ब्यानरमा बनेको चलचित्रलाई खुशबहादुर गुरुङले निर्देशन गरेका हुन् ।
मुनाल फिल्मस् प्रालिले निर्माण गरेको चलचित्र ‘मैरीमु’ जेठ २८ र २९ गते प्रदर्शन हुनेछ । जसलाई भोज बहादुर गुरुङले निर्देशन गरेका हुन् । हंग्री आई फिल्मस् प्रालिको ब्यानरमा निर्माण भएको र नौ जंग गुरुङद्वारा निर्देशित चलचित्र ‘तिमी नभए’ असार ४ र ५ गते प्रदर्शन गरिने भएको छ । प्रदर्शन गरिने सबै चलचित्रको समय मध्यान्ह १२ बजेदेखि २ बजेसम्मलाई तोकिएको छ । टिकटदर भने मिडटाउनले यसअघि अन्य चलचित्र प्रदर्शनमा लिँदै आएको कायम रहने जानकारी गराइएको छ ।
वि.सं २०५२ सालमा ‘पाते’ नामक चलचित्रबाट गुरुङ चलचित्र निर्माण भएको थियो । आजसम्म आइपुग्दा १ सय ४४ वटा गुरुङ चलचित्र निर्माण भइसकेको जिफानले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । २०६५ सालमा स्थापना गरिएको गुरुङ फिल्म एसोसियसन नेपालले स्थापनाकालदेखि नै गुरुङ चलचित्र निर्माण र बजार व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको छ ।