काठमाडौं । प्रधामन्त्री केपी शर्मा ओली पक्षबाट खेलकुदमन्त्री बनेका दावा तामाङलाई सिन्धुपाल्चोकमा कालो झण्डा देखाइएको छ । जिल्लाको इन्द्रावती गाउँपालिका वडा नम्बर ४ टाकुरेमा मन्त्री तामाङलाई युवाहरुले बीच बाटोमा नै अवरोध गरेर कालो झण्डा देखाएका हुन् । विरोधका क्रममा युवाहरुले बाटोमा रुख ढालेर बाटो बन्द गराएका थिए । गाउँपालिका अन्तरगत वडा नम्बर ५ स्थित ऐंसेलुखर्कमा कार्यकर्ता भेलालाई सम्बोधन गर्न जिल्ला पुगेका मन्त्री तामाङविरुद्ध युवाहरुले नाराबाजी समेत गरेका छन् ।
स्थानीय युवाहरुको विरोध पश्चात् मन्त्री तामाङ झण्डै ४ घण्टा मेलम्ची बजारमा रोकिएका थिए । विरोध स्वरुप बाटो अवरुद्ध तथा कालो झण्डा देखाइएपछि उनी ४ घण्टापश्चात कार्यक्रमस्थल पुगेका छन् । सिन्धुपाल्चोकमा नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल पक्षको पकड रहेको छ । तामाङ गृहमन्त्री रामबहादर थापा बादल निकट मानिन्छन् ।