काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा जनता समाजवादी पार्टी जसपाका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईबीच पछिल्लो केही समय यता लगातार भेटवार्ता हुन् थालेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेकोविरुद्ध संयुक्त मोर्चा बनाएर अगाडि बढ्न भन्दै दुवै नेताबीच भेटवार्ता बाक्लिन थालेको हो । स्रोतका अनुसार प्रधानमन्त्री ओलीविरुद्ध संयुक्त आन्दोलन हुन नसकेको खण्डमा प्रतिनिधिसभा पुनःस्थापना हुन नसक्ने भन्दै उनीहरुबीच भेटवार्ता बाक्लिएको छ ।
प्रधानमन्त्री ओलीले संविधानमा नभएको अधिकार प्रयोग गरेर प्रतिनिधिसभा विघटन गरेको भन्दै अधिकाशं राजनीतिक दलहरुले यतिबेला ओलीविरुद्ध आन्दोलन गरिरहेका छन् । प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्ने उनीहरुको माग छ । यस अगाडि अध्यक्ष डा.भट्टराईले प्रधानमन्त्री ओली तथा प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलनमा साथ दिन नेपाली कांग्रेसलाई आग्रह गरेका थिए । कांग्रेसले साथ नदिएपछि उनले प्रचण्डसंग भेटेर संयुक्त आन्दोलन गर्नुपर्ने माग गरेका हुन् ।
भट्टराई हिजो शुक्रबार आफ्नो पार्टीको भैरहवाको कार्यक्रमबाट हतारहतार काठमाडौं फर्किएका थिए । काठमाडौं पुगे लगत्तै नेकपा प्रचण्ड–नेपाल पक्षको आमसभा पश्चात् उनले प्रचण्डसंग उपराष्ट्रपतिको निवासमा भेटेका हुन् । स्रोतका अनुसार प्रचण्डसंग भट्टराईले ओली पक्षसंग पूर्ण रुपमा सम्बन्ध तोड्नुपर्ने तथा संयुक्त आन्दोलनका लागि होमिनुपर्ने माग गरेका छन् ।
यता प्रचण्डले समेत आफूहरुले ओलीसंग सम्बन्ध तोडिसकेको र आन्दोलनमा संयुक्तरुपमा जान तयार रहेको जवाफ भट्टराईलाई दिएका थिए । प्रचण्डले प्रतिनिधिसभा विघटनको मुद्धाका विषयमा एक्लाएक्लैभन्दा मिल्ने अन्य पार्टीलाई समेत मिसाएर संयुक्त मोर्चा सहित आन्दोलन गर्नुपर्नेमा जोड दिएका छन् ।