पोखरा । नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीसंग पार्टी एकता गर्दा नै सहमति सबैमा गर्ने तर कार्यान्वयन केही पनि नगर्ने लक्षण देखिएको र यो आज पुष्टि भएको बताएका छन् ।
आज नेकपा प्रचण्ड–नेपाल पक्षको शक्ति प्रदर्शनका क्रममा बोल्दै प्रचण्डले प्रधानमन्त्री पदका लागि प्रधानमन्त्री ओलीले सबै विषयमा सहमति गरे पनि कार्यान्वयन नगरेको आरोप लगाएका हुन् । ‘सुरुदेखि नै हामीलाई आभास भएको थियो, केपी जीले सहमति गर्ने कार्यान्वयन एउटा पनि नगर्ने सहमति जे पनि गरिदिने प्रधानमन्त्री पाउनका लागि, तर सत्ता प्राप्त गरेपछि एउटा पनि सहमति कार्यान्वयन नगर्ने लक्षण देखिएकै थियो ।’ उनले भने, ‘हामीले त्यसका विरुद्ध बहस तथा संघर्ष गरेका पनि थियौं ।’
एकताबद्ध हुँदा चुनावको समयमा तयार पारिएको घोषणापत्रमा उल्लेख भएका बुँदालाई सम्पन्न गर्न हरेक कोसिस गरेको भए पनि त्यो पुरा गर्न नसकेको प्रचण्डको भनाई थियो । प्रधानमन्त्री ओलीलाई आफूहरुले तह लगाउन नसकेको उनले कार्यक्रममा बताए । ‘म यो मञ्चमा खडा भएर के भन्न चाहन्छु भने, हामीले यो ३ वर्षमा केपीलाई तह लगाउन सकेनौं, सायद हाम्रो पनि केही कमजोरी रहे ।’ उनले भने ।
प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेर जनताको मतको खिल्ली उडाएको आरोप लगाउँदै प्रचण्डले सोही मतको रक्षाका लागि सडक आन्दोलनमा आउन आफूहरु बाध्य भएको समेत स्पष्ट पारेका छन् । प्रधानमन्त्री ओलीले शान्ति प्रक्रिया पनि विघटन गर्न खोजेको उनले आरोप लगाए । संविधान विघटन गर्ने, शान्ति प्रक्रिया भंग गर्न खोज्ने र तानाशाह लागु गर्न खोज्नेलाई नेपाली नागरिकले छुट दिन नसक्ने समेत प्रचण्डले बताएका छन् । ओलीको प्रतिगमन विरुद्ध सिंगो मुलुक नै खडा भएको उनको दावी थियो ।