पोखरा । नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समुहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान, नेपालको स्थिरता तथा संसदमाथि प्रहार गरेको र यसको विरुद्धको आन्दोलनको अर्को विकल्प नभएको बताएका छन् । उक्त पक्षले आज काठमाडौंमा आयोजना गरेको शक्ति प्रदर्शनलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नाम जस्तै खड्ग प्रहार गरेको उनको आरोप थियो । ओली अब कम्युनिस्ट नरहेको बताउँदै अध्यक्ष नेपालले निस्काशन गरिएको र साधारण सदस्य समेत नरहने गरेर कारवाही गरिने उनले चेतावनी दिएका छन् । ओली अझै सच्चिने हो भने केही दिन जेलमा राखेर माफी दिन सकिने उनको भनाई थियो ।
आफ्नो भाषण अवधिभरी प्रधानमन्त्री ओलीलाई कटाक्ष गरेका अध्यक्ष नेपालले अब ओलीसंग मिलेर जाने अवस्था नभएको दावी गरेका छन् । केही दललले कम्युनिस्टहरुको यो सबै नाटक हो र मिल्न सक्छन् भनिरहेको बताउँदै उनले अब ओलीसंग मिल्ने कुनै सम्भावना नभएको बताएका हुन् । केपी ओली कम्युनिस्ट आदर्शका लागि समर्पण हुने व्यक्ति नभएको उनले आरोप लगाएका छन् । प्रधानमन्त्री ओलीले संसद विघटन गरेर संवैधानिक कु गरेको नेता नेपालको आरोप थियो । केपी ओली हिटलरको बाटोमा हिंडिरहेको उनको भनाई थियो ।
प्रधानमन्त्री ओलीले आफूलाई जहिले पनि पार्टीभन्दा माथि सोचेको अध्यक्ष नेपालको भनाई थियो । ५० वर्षदेखि ओलीसंग सम्बन्ध भए पनि आफूले सधैं ओलीलाई फकाउने गरेको अध्यक्ष नेपालले बताए । प्रचण्डले समेत मिलेर जाँऊ भन्दै धेरै पटक प्रयास गरेको तर ओलीले नमानेको अध्यक्ष नेताले बताएका छन् । ‘५० वर्षसम्म जहिले पनि दुःख दिए, जहिले पनि हैरान मात्रै गरे । मैले थुमथुम्याउने, मलाई सधैँ दुःख दिए । उहाँ सधैं अरुको हुर्मत लिन खोज्नुहुन्छ ।’ उनले भनेका छन् । केपी ओली अध्यक्ष भएसम्म पार्टी समेत चल्न नसकेको उनको आरोप थियो । ‘जनतालाई झठो आश्वासन बाँडे, अहिले जनता कोरोनाबाट पीडित छौं भन्यौं तर केपी ओली कुनै पनि कुरामा छलफल गर्न तयार हुनुभएन ।’ उनले भने, ‘तर उहाँ त एकलौटी गर्ने मान्छे, प्रशंसा चाहिने मान्छे । कसैको कुरा सुन्नुभएन ।’
ओलीले गरेको गल्तीको समीक्षा पछि गरिने बताउँदै अध्यक्ष नेपालले हाल मुलुकमा संकट आएको बताए । विभिन्न स्थानमा आफूहरु पुगेको बताउँदै अध्यक्ष नेपालले जनता आफूहरुको साथमा भएको दावी गरेका छन् । प्रवासी नेपालीहरुमा पनि ओलीको कदमविरुद्ध आन्दोलित भइरहेको उनले बताए । सबै तहमा बहुमत सहित आफूहरुको साथमा रहेको अध्यक्ष नेपाललको दावी थियो । ‘ओलीसंग अरिंगालको गोलामात्रै छ, साइबर सेनामात्रै छ ।’ समावेशिताप्रति आफूहरुलाई मात्र माया भएको उनको दावी थियो ।
सूर्य चिन्ह तथा पार्टीको आधिकारिकता आफूहरुले नै पाउने उनले दावी गरेका छन् । केपी ओली भष्मासुर भएको भन्दै उनले उनको भष्मासुर प्रवृतिलाई अन्त्य गर्ने समय आएको समेत उनले बताएका छन् ।