काठमाडौं । नेपाल वायुसेवा निगमले मलेसियाको क्वालालाम्पुरबाट एउटै जहाजमा एकैपटक १७ वटा शव ल्याउने भएको छ ।
उक्त शवहरु ल्याउनका लागि निगमले वाइडबडी जहाज ए३३० क्वालालाम्पुर पठाउने भएको छ । यस अगाडि उक्त रुटमा निगमको न्यारोबडी जहाजको नियमित उडान भइरहेको थियो । सानो जहाजमा यात्रुहरु सहित मलेसियाबाट उडान भर्दा यात्रुकै ब्यागेजहरुले कार्गो भरिने गरेको थियो । सोही कारण शवहरु नेपाल ल्याउनपर्ने भए पनि मलेसियामा नै अड्किएको थियो ।
निगमले दिएको जानकारी अनुसार उसले आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत वैदेशिक रोजगारीका लागि मलेसियामा पुग्दा ज्यान गुमाएका नेपालीहरुको शव ल्याउन लागेको हो । सो विमानमा २ सय ५० जना यात्रुहरु समेत नेपाल आउने बताइएको छ । जहाज आज राति ११ बजे मलेसियाको क्वालालाम्पुरका लागि उड्ने निगमले जानकारी दिएको छ ।