काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल पक्षले आज आयाजना गर्ने शक्ति प्रदर्शनका कारण जुलुस सुरु नहुँदै काठमाडौंको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ ।
आज हुने भनिएको शक्ति प्रदर्शनलाई मध्यनजर गर्दै काठमाडौंको रिङरोड क्षेत्रमा ठूला यातायातका साथनलाई प्रवेश दिइएको छैन । जसका कारण सर्वसाधारण तथा कर्मचारीहरुलाई सास्ती उत्पन्न भएको हो । स्रोतका अनुसार जुलुस सुरु हुने समय नजिकिदै जाँदा माइतीघर क्षेत्र, रत्नपार्क, पुतलीसडक, प्रदर्शनी केन्द्र, त्रिपुरेश्वर, जमल लगायतका क्षेत्रको ट्राफिक अस्तव्यस्त बनेको छ ।
प्रतिनिधिसभा विघटनको विरोधमा आज आठमाडौंमा हुने शक्ति प्रदर्शनका लागि प्रचण्ड–नेपाल पक्षले उपत्यकाका ३ जटा जिल्लासहित काभ्रे, चितवन, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट, रामेछाप लगायतका जिल्लाबाट कार्यकर्तालाई काठमाडौं उतारेको छ । प्रचण्ड–नेपाल पक्षले आजको प्रदर्शनका क्रममा १ लाख बढीको संख्यामा कार्यकर्ता उतार्ने दावी गर्दै आएको थियो । यस अगाडि उक्त पक्षले पुस १४ गते समेत प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक तरिकाले प्रतिनिधिसभा विघटन गरेको भन्दै उपत्यकामा सरकारविरुद्ध प्रदर्शन गरेको थियो ।
आजको शक्ति प्रदर्शनका क्रममा काठमाडौंका विभिन्न ९ स्थानबाट जुलुस निकालिने भएको छ । जुलुसको नेतृत्व केन्द्रीय नेता तथा स्थायी कमिटीका सदस्यहरुले गर्ने भएका छन् । स्रोतका अनुसार जुलुस कुपण्डोल, डिल्लीबजार, माइतीघर, लैनचौर, त्रिचन्द्र क्याम्पस, त्रिपुरेश्वर, प्रदर्शनीमार्ग, बाल्मिकी क्याम्पस तथा शान्तिवाटिकाबाट सुरु हुने जानकारी दिएको छ ।