पोखरा, १२ पुस । लिंग र लैंगिकताबीचको विभेद खुट्याउन नसक्दा शिक्षितहरुले समेत लैंगिक हिँसालाई गलत तरिकाले बुझ्ने गरेको एक कार्यक्रमले निष्कर्ष निकालेको छ । कार्यस्थलमा हुने हिँसाको उपचारबारे जानकारी नहुँदा ति हिँसाका घटनाहरु बाहिर नआउने गरेको पनि उनीहरुको बुझाई छ ।
नेपाल उद्योग बाणिज्य महासंघ, रोजगारदाता परिषद तथा पोखरा उद्योग बाणिज्य संघको संयुक्त आयोजना एवं अन्तर्राष्ट्रिय श्रम संगठनको सहयोगमा शुक्रबार आयोजित लैंगिक हिँसा सचेतता एवं लैंगिक तालीम पुस्तिका तयारीका लागि भएको कार्यशालाले सो निष्कर्ष निकालेको हो । कार्यक्रममा सहजकर्ता बिष्णु खत्रीले लैंगिक हिँसा अन्त्यका लागि सबै एक हुनुपर्नेमा जोड दिए । उनले कानूनले दिएका अधिकारबारे जानकारी नहुनु र सामाजिक कुसंस्कारका कारण पनि हिँसामा कमी नआएको धारणा राखे ।
कार्यक्रम तथा पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष संजिवबहादुर कोइरालाले लैंगिक असमानता हटाउनका लागि निजी क्षेत्र तयार रहेको प्रष्ट पार्दै महिलामाथि हुने हिँसा अक्षम्य भएको बताए । कार्यक्रमबारे जानकारी दिँदै नेपाल उद्योग बाणिज्य महासंघ, रोजगारदाता परीषदका तालीम संयोजक सकुन्तला श्रेष्ठले लैंगिक विभेद अन्त्य र समानताका लागि तालीम पुस्तिका बनाउने एवं हिँसाका स्वरुपहरुबारे जानकारी हाँसिल गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको जानकारी दिइन ।