महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतोले तराई मधेशको विकासका लागि प्रधानमन्त्री केपी ओलीको विकल्प नरहेको बताएकी छन् ।
महोत्तरीको मटिहानी नगरपालिका–८ स्थित विग्ही नदीमा नव निर्मित पुलको शिलान्यास गर्दै मन्त्री महतोले प्रधानमन्त्री ओलीकै कार्यकालमा तराई मधेशमा थुप्रै विकासका योजना आएको र बहुप्रतिक्षित हुलाकी सडक जस्तो तराईको ‘लाइफलाइन’को काम पनि दु्रतगतिमा अगाडि बढेकोले यहाँको विकासका लागि उहाँको विकल्प नरहेको दोहोर्याइन् ।
उनले भौतिक विकासका लागि पुल, पुलेसा, नदीनाला, सडक तथा शैक्षिक औद्योगिक र कृषि विकासका लागि पनि रु अर्बौको बजेट प्रधानमन्त्री ओलीकै कार्यकालमा आएको भन्नुहुँदै तराई मधेशको चौतर्फी विकासका लागि उहाँको महत्वपूर्ण भूमिका रहेको बताइन् । नेकपा नेताहरु रामदयाल मण्डल र नेता रामआधार कापरले प्रधानमन्त्री केपी ओली नेतृत्वको पार्टीमा कुनै विवाद नरहेको र देश नयाँ दिशामा अगाडि बढिरहेकोले तोकिएको मितिमा हुन गइरहेको निर्वाचनमा सबै जनतालाई सहभागिता जनाई सहयोग गर्न अपिल गरे ।
मटिहानी–८ स्थित विग्ही नदीमा नेपाल सरकारको रु सात करोड, ६७ लाख २६ हजार २०१ बयानब्बे पैसमा ५० मिटर लामो पुल निर्माण भइरहेको छ र सो पुल कालिका कन्स्ट्रक्सन प्रालि भरतपुर चितवनले ठेक्का हात पार्दै निर्माण गरिरहेको छ ।