रिना थापा
करिब चार हजार घण्टा प्याराग्लाइडिङको सोलो र टेन्डम उडान भरेका व्यावसायिक पाइलट सुवास थापा कोरोना कहरले प्रभावित हुँदा हिजोआज कुखुरा फार्ममा भेटिन्छन् । चीन र टर्कीबाट समेट एक्रोब्याटिक तालिम लिएका थापा धेरै प्यारापाइलटका गुरु पनि हुन् ।
प्यारापाइलटका ट्रेनर थापासँग स्काइडाइभिङकोसमेत लाइसेन्स छ । सय बढी जम्प गरिसकेको उनले यसको लाइसेन्स चीनबाट लिएका हुन् । उनीसँग ‘बी’ लेभलको लाइसेन्स छ ।
करिब १५ वर्षअघि पोखराको आकाशमा फाट्टफुट्ट उडेका विदेशीलाई सराङ्कोटको घरबाटै नियाल्थे थापा । आकाशको त्यही दृश्य उनका लागि भविष्यमा पुरा गर्नुपर्नेमध्येको एक सपना बन्यो । उनले मनमनै सोचे ‘एकदिन त्यसरी उड्नेमा म पनि एक हुनेछु ।’ अन्ततः उनी त्यसरी नै उडेनन् मात्र अरुलाई उड्न सिकाउने पनि बने । सन् २००९ मा लेकसाइडस्थित ब्लुस्काइ प्याराग्लाइडिङमा स्वयंसेवी भएपछि उनले लाइसेन्स लिए ।
अहिले उमेरले ३४ लागेका थापाले प्रशिक्षण दिएका खेलाडीले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा रजत पदक दिलाएका छन् । त्यस्तै, स्वयं पनि विभिन्न अन्तराष्ट्रिय संस्थाबाट सम्मानित भईसकेका छन् । तर १५ वर्ष अगाडिको समय र आजको पल बेग्लै छ । त्यति लामो समय उडान भरेका सुवासको दैनिकी अहिले कुखुरा फार्ममा पुगेर अवतरण भएको छ ।
उनकै शब्द सापटी लिने हो भने ‘अब प्याराग्लाईडिङ्मा भविष्य छैन ।’ उनलाई आफुले रुचाएको पेशामा भविष्य छैन भन्ने शंका केही अघि भएको हो । सोही कारण उनले व्यवसायिकरुपमा नभई रहरले कुखुरा फार्ममा लागे । रहरसँगै त्यता लागेको ४ महिनापछि कोरोना महामारी विश्वव्यापी भयो । देशव्यापी लकडाउन सुरु भयो । अब भने थापाको शंका यथार्थमा फेरिएपछि उनले व्यवसायिकरुपमै कुखुरा फार्म सुरु गरे ।
‘कुखुरापालन मेरो रुचि हो’ भन्ने सुवासको फार्ममा स्वदेशी र विदेशी नश्लका कुखुरा छन् । प्याराग्लाइडिङलाई हावासँगै कावा खुवाउने उनका हात अचेल कुखुराको स्याहारसुसारमा बित्दैछ ।
ग्लाइडरसँग खेल्ने हातले विभिन्न जातका कुखुरासँग खेलेर बस्दा उनी त्यती दुखी भने छैन । उनी भन्छन्,‘ प्याराग्लाईडिङ्गमा भविष्य छैन भन्ने पहिले थाहा थियो त्यसैले यो पनि सुरुवात गरे तर बच्चा देखि कुखुराको सौखिन भएर होला खुशी मिल्छ ।’
थापाले प्याराग्लाईडिङ्ग गर्दा आकाशमा उड्ने त्यति हुन्थेन कमाई पनि त्यहीँ हिसाबले हुन्थ्यो । पछिल्लो समय मानिस माझ यसको क्रेज पनि बढ्यो र सँगै मूल्य पनि घट्यो । यसको असर यसैमा निर्भर भएर बसेका पाइलटमा पर्यो ।
उसो त थापा उत्कृष्ट पाइलटमध्ये एक हुन् अझैपनि थापासँग एक्रोब्याट सिक्नका लागि भनेर विदेशदेखि मान्छे आउँछन् । उनीसँग सुरक्षित महसुस गरेर सुरुवाती मूल्यमा उड्न खोज्ने मान्छे पनि निकै हुन्छन् । यद्यपी अब थापा भने यसलाई साइडमा राख्ने निर्णयमा छन् ।
‘१० डलर कै मूल्यमा उड्न आउने पनि हुनुहुन्छ सिक्न खोज्ने पनि हुनुहुन्छ तर सधैं यसैगरि कहिलेकाहीको भरमा रहन सकिदैन,’ उनी सुनाउछन्,‘एक्रोब्याट गर्नेको ग्लाइडर समयमा चेन्ज गर्नुपर्छ सुरुवातमा पो थोरै थिए पाइलट उडाएको मूल्य राम्रो थियो अब भने छैन ।’
उनी भन्छन्,‘ पछिल्लो समय धेरै पाइलट भए त्यसमाथि आफनो रहर र इच्छाले मनलाग्दी उडाउने जसले गर्दा यसैमा निर्भर भएकालाई गाहे हुन्छ नि ।’
उनले प्याराग्लाईडिङबाट कमाई गर्न सुरु गर्दा एक फलाइटको मूल्य १० हजार थियो पछि बिस्तारै मूल्य घट्दै गयो । उनका अनुसार त्यससमय नर्मल महिनामा २ लाख बढी आम्दानी भएको समयपनि छ ।
लकडाउन अगावै यसमा भविष्य नदेखेका थापा जस्ता अन्य पाइलटको आफनै मर्का हुँदा पछिल्लो समय कोरोना महामारीले आन्तिरक पर्यटक चलायमान बनाउनकै लागि भएपनि नेपाल हवाई उडानले प्यारायाग्लाईडिङ्गमा आधा प्रतिशत छुट दिएको थियो ।
उसो त क्यानले व्यवसायीक पाइलटमाथि अर्को अन्याय पनि गरेको छ । केहीसमय पोखरामा प्याराग्लाईडिङ दुर्घटनामा ज्यान एक पाइलटले ज्यान गुमाएपछि थप ८ जना पाइलटलाई अनिश्चित् समयका लागि उडानमा रोक लगाएको छ । जसमा थापाको नामपनि छ ।
यस विषयमा थापा भन्छन्,‘दुर्घटनाको छानबिन हुँदा क्यानले के गर्यो त भन्ने दबाबरुपी प्रश्नको उत्तर दिन हाम्रो उडानमा रोक लगाएको हो ।’
उनका अनुसार एक्रोब्याट एक साहस हो जसका लागि अभ्यासको जरुरत छ । ‘एक्रोब्याट त यसै गरिदैन नि अभ्यास चाहिन्छ, यहि कलाले विदेशमा नाम हुने स्वदेशमा भने हामीलाई रोक लगाउने ?’ उनी प्रतिप्रश्न गर्छन्, ‘यसरी अनिश्चित समयका लागि उडान रोक लगाउनु त हामीमाथि अन्याय होइन र ?’
उसो त थापाले त्यसरी उडान नभरेको निकै समय भइसकेको थियो । दुर्घटना हुने एकदिन अगाडि उड्न मन लागेर उडेका थिए । त्यसपछि क्यानले समयावधि नतोकी उडानमा रोक लगाएको छ । अब उड्ने अनुमति कहिले पाउने हो थाहा छैन । लकडाउन पश्चात् मनलाग्दा कहिलेकाही साथीको ग्लाइडर मागेर उड्न समेत पाएका छैनन् थापाले ।
११ वर्षदेखि आकाशमा उडेका उनले २०२० मा प्याराग्लाईडिङगलाई व्यावसायिक धारबाट अलग राख्दै करिब ४० लाख रुपैयाँको लगानीमा व्यावसायिक कुखरा फार्म संचालनमा ल्याए । उनको फार्ममा जापानिज, चाइनिज, कोलबियन, कालिज कडकनाथ जस्ता विभिन्न जातिका कुखुरा छन् ।
लकडाउनपश्चात् पोखराबाट आफनै पुख्यौली घर सराङकोट ग्यादीमा उनको दैनिकी बदलिएको छ । उनी भन्छन् ‘उड्न मन लागे र पाएदेखि ग्लाइडर उडाउने हो, नउड्ने रहर कसलाई हुन्छ र ?’