पर्खाल लगाएर फिर्के खोला अतिक्रमण, नागरिक समाज असन्तुष्ट

गन्थन डेस्क

पोखरा महानगर वडा ५ स्थित फिर्केखोला अतिक्रमण गरिएको भन्दै नागरिक समाज कास्कीले पुनः चासो देखाएको छ ।

सार्वजनिक सम्पत्तिमाथि नै अतिक्रमण गर्दा पनि स्थानीय निकाय मौन रहनु लज्जाको विषय भएको भन्दै समाजले आज वडाध्यक्ष धनबहादुर नेपालीसमक्ष ज्ञापनपत्र बुझाएको छ ।

समाजका अध्यक्ष इन्द्रकला मानन्धरसहितको टोलीले अध्यक्ष नेपालीलाई खोला कब्जा गरी रिटेनिङ वाल लगाई करिब २ रोपनी क्षेत्र अतिक्रमण गरेको जानकारी गरायो ।

अध्यक्षलाई जानकारी गराएपछि समाजले यही विषयमा अख्तियार अनुसन्धान आयोग पोखराका प्रमुखलाई समेत यसबारेमा जानकारी गराएको छ । उक्त क्षेत्रमा ज्ञानबहादुर कोइरालाले पर्खाल लगाएका हुन् ।

यस विषयमा लामो समयदेखि सम्बन्धित निकायसमक्ष ध्यानाकर्षण र विरोध गरिए पनि कोइरालासामु सरकारी संयन्त्र लाचार देखिएको छ । कोइरालाले पूर्व एमाओवादीको कास्की नेता भएकाबेला फिर्के खोलामा रिटेनिङ वाल लगाएर अतिक्रमण सुरु गरेका हुन् ।

कमेन्टहरु
Loading...