पोखरा । पोखरामा रहेर गीत संगीत सम्पादन गर्दै आएका सम्पादक सुवास अम्गाई र छायांकन गर्दै आएका गणेश सापकोटाले यस वर्षको सर्वोकृष्ट लोक दोहोरी सम्पादक तथा छायांकन अवार्ड हात पारेका छन् ।
काठमाडौंमा सम्पन्न नेसनल पावर म्युजिक अवार्डबाट उनीहरु सर्वोकृष्ट छानिएका हुन् । लामो समयदेखि पोखरामा रहेर म्युजिक भिडियो उत्पादनमा तल्लीन रहेका अम्गाई र सापकोटालाई नकुल ढकाल नवीनको सन्देशमुलक गीत ‘मुखियाका नाती’ बाट अवार्ड प्रदान गरिएको हो । गीतमा नकुल ढकाल सहित वसन्त थापाको आवाज रहेको छ भने भिडियोको निर्देशन तारानाथ आचार्यले गरेका हुन् ।
अवार्ड प्राप्त गरेपछि आफूलाई जिम्मेवारीबोध भएको अम्गाईले बताए । टेलिभिजन पत्रकारीता र प्राविधिक क्षेत्रमा राम्रो अनुभव बटुलेका अम्गाई फलानो क्रियसनका सञ्चालक समेत हुन् । पोखरामै रहेर करिब ८ वर्ष अघि अपील त्रिपाठी, सरोज अधिकारीसंग मिलेर फलानो क्रियसन निर्माण गरिएको र हालसम्म सयौं गीतसंगीत तथा फिल्म, टेलिभिजन विज्ञापनहरु उत्पादन गरिएको उनले बताए ।
सर्वोकृष्ट छायांकनको अवार्ड प्राप्त गरेका सापकोटा लामो समयदेखि संगीतको छायांकन तथा उत्पादनमा क्रियाशील क्यामराम्यान हुन् । अवार्डले आफूलाई थप उर्जा मिलेको बताउँदै सापकोटाले सबै कुरा राजधानीमा मात्र छ र हुन्छ भन्ने मानसिकताबाट पछि हट्न सबैमा आग्रह गरेका छन् । मोफसलमा पनि राम्रा र उत्कृष्ट कामहरु हुने कुरा यस अवार्डले देखाएको समेत बताए ।