प्रधानमन्त्री ओलीविरुद्धको सडक आन्दोलनलाई सशक्त बनाउँछौंः नेता गुरुङ

पोखरा । नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समुहका नेता देव गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई विभाजनको पक्षमा लैजाने तथा प्रतिगामी सोंचका साथ प्रतिनिधिसभा विघटन गरेको बताएका छन् । आज बिहान पोखरामा उक्त समुहले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता गुरुङले ओलीले प्रतिगामी कदम चालेको र यसको विरुद्धमा आफूहरु लाग्ने बताएका हुन् ।

ओलीको कदमविरुद्ध सडकको आन्दोलनलाई अझै सशक्त बनाएर लैजाने समेत उनले चितावनी दिएका छन् ।

पार्टी नेता देवेन्द्र पौडेलले हालको अवस्थामा नेकपाको प्रचण्ड–नेपाल समुहमा बहुमत भएको दावी गरे । आफूहरुको समुहमा बहुमत भएको बताउँदै उनले चुनाव चिन्ह सूर्य आफूहरुले नै पाउने दावी गरेका थिए ।

यसैबीच नेपाल कम्युनिस्ट पार्टी नेकपा गण्डकी प्रदेश कमिटीले ११ गते बसेको बैठकले विभिन्न निर्णयहरु गरेको छ ।

कमिटी अध्यक्ष हितराज पाण्डे, स्थायी कमिटी सदस्य देव गुरुङ, गण्डकी प्रदेश कमिटी सह–इन्चार्ज यशोदा सुवेदीको सहभागितामा बसेको बैठकको निर्णयहरु आज पोखरामा सार्वजनिक गरिएको हो ।

प्रदेशसभा तथा स्थानीय तहमा कार्यरत जनप्रतिनिधिको भेला तथा प्रशिक्षण कार्यक्रम आयोजना गर्ने बैठकले निर्णय गरेको छ । त्यस्तै गण्डकी प्रदेश कमिटीका सदस्य कुलचन्द्र महतो, उदयबहादुर बस्नेत, नेपाल कम्युनिस्ट आन्दोलनका योद्धा सोनाम साथी लगायत बैठकभन्दा अगाडि तथा तस्रो पूर्ण बैठकभन्दा पछाडि निधन भएका गण्डकी प्रदेश कमिटीका सदस्यको निधनमा शोक प्रस्ताव समेत पारित गरिएको छ ।

कमेन्टहरु
Loading...