महेन्द्रपुलमा ‘केपी चोर, देश छोड्’

पोखरा । अन्ततः नेपालमा संसद विघटन भएको छ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति समक्ष संसद विघटनका लागि गरेको सिफारिस स्वीकृत पनि भइरहेको छ । यसैबीच संसद विघटन गर्ने प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीको विरोधमा पोखरामा विरोध प्रर्दशन तथा पुत्ला जलाइएको छ ।

पोखराको महेन्द्रपुलमा आज राष्ट्रिय युवा संघ नेपाल तथा अनेरास्ववियुले विरोध कार्यक्रमका साथसाथै प्रधानमन्त्री ओलीको पुत्ला जलाएको हो । पुत्ला जलाउने क्रममा प्रहरी तथा नेताहरुबीच केही बेर झडप भएको थियो । आफूहरुले शान्तिपूर्ण रुपमा विरोध कार्यक्रम तथा पुत्ला जलाएको भएपनि प्रहरीले हस्तक्षेप गरेको उनीहरुको आरोप छ ।

अनेरास्ववियुका केन्द्रीय सदस्य क्षितिज सापकोटाले वर्तमान प्रधानमन्त्री ओलीलाई राजा बन्न मन लागेको आरोप लगाए । ‘यदि केपी ओलीलाई राजा बन्न मन लागेको हो भने, हामीले पूर्व राजालाई नागार्जुन दिएका छौं ।’ आक्रोशित हुँदै उनले भने, ‘ओलीलाई हामी नेपालमा बस्न पनि दिदैनौं ।’ आफूहरुले राणा, पञ्च तथा राजालाई खेदेको बताउँदै उनले अहिलेको अवस्थामा प्रधानमन्त्री ओली नसुध्रिए लखेट्न बाँकी नराख्ने चेतावनी दिए ।

त्यस्तै राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य पूर्ण लामाले विरोध तथा पुत्ला जलाउने कार्यक्रमलाई सम्बोधन गर्दै संसद कुनै एउटा व्यक्तिको लहडमा नचल्ने बताए । ‘सबै साथीहरुलाई म ढुक्क हुन चाहन्छु, नेपाल कम्युनिस्ट पार्टी एकताबद्ध छ । एकताबद्ध रुपमा अगाडि बढ्छ ।’ उनले भने, ‘आज पार्टीभित्र जुन गम्भीर समस्या देखिएको , हामीलाई लाग्छ, केपी ओलीले यो समस्या देखाएका हुन्, तर हामीले थाहा पाउनुपर्छ यो समस्या एउटा प्रवृत्ति हो, यो एउटा लोकतन्त्रमाथिको चुनौती र खतरा हो, यस्ता चरित्र तथा प्रवृत्तिलाई पराजितच नहुँदासम्म सडकमा आइरहने छौं आज त यो सुरुआतमात्र हो ।’

विरोध प्रर्दशनका क्रममा प्रतिगमन मुर्दावाद, संसद विघटन गर्न पाइंदैन, प्रजातन्त्र जिन्दावाद, महान् सहिद जिन्दावाद, केपी चोर देश छोड् लगायतका नारा लगाएका थिए ।

कमेन्टहरु
Loading...